सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि खुलेको छ।
चीनबाट सामान बोकेको एउटा कन्टेनर आज दिउँसो नेपाल आएको हो। असोज तेस्रो सातादेखि यो नाका बन्द थियो।
नाका सुचारू भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सेतोपाटीलाई बताए।
‘आजदेखि नाकामा कन्टेनरबाट सामान आउन थालेको छ,’ उनले भने।
शुक्रबारदेखि चीनबाट मालबहाक अरू कन्टेनर पनि नेपाल आउनेछन्।
नेपालमा कोरोना भाइरस संक्रमण कायमै रहेको भन्दै चिनियाँ पक्षले नाका सञ्चालन गर्न मानेको थिएन।
तर स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्ने, सामाग्री अनलोड गर्ने कामदारको पिसिआर परीक्षण रिपोर्ट बुझाउनेजस्ता समझदारीपछि नाका खुलेको हो।
चीनबाट ल्याइएका सामान नेपालतर्फ अनलोड गरेको केही दिनपछि मात्रै त्यहाँबाट लोड गरेर काठमाडौं पठाउने गरी व्यवस्था मिलाइएको तातोपानीस्थित भन्सार कार्यालयले जनाएको छ।
गत असोजमा चिनियाँ राजदूतावासले रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो। त्यसअघि बाढीपहिरोले ती सडक बन्द हुँदा ती नाकाबाट सामान नेपालतर्फ ल्याउन सकिएको थिएन।