महोत्तरीमा बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव बोरामा फेलापछि स्थानीयले प्रदर्शन गरेका छन्।
महोत्तरीको बर्दिबासमा आइतबार साँझदेखि हराएकी बालिकाको शव सोमबार मध्यरातमा बोरामा फेला परेको थियो। अहिले स्थानीयले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन्।
बर्दिबास नगरपालिका वडा नं. १४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीय बालिका गुलाब साह खातुनको बोरामा शव फेला परेको थियो।
हत्या गरेको आरोपमा पक्राउ परेका आरोपितको घरमा स्थानीयले आगो लगाएका छन्।
हत्या गरेको आरोपमा पक्राउ परेको महोत्तरीकै गौशाला नगरपालिका वडा नं. ५ का अरुण कुमार साहको बर्दिबासस्थित घरमा आक्रोशित स्थानीयले आगो लगाएका हुन्।
आगो नियन्त्रणमा लिन बर्दिबास नगरपालिकाबाट पुगेको दमकललाई स्थानीयले आगो निभाउन दिएका छैनन्।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायब उपरीक्षक राजन चापागाईं अनुसार उल्लेख्य संख्यामा स्थानीय उपस्थित छन्, जसले गर्दा भीड नियन्त्रण गर्न कठिनाइ भइरहेको छ।
घटनास्थलमा रहेको प्रहरी नायब उपरीक्षक चापागाईले प्रदर्शनलाई नियन्त्रण गर्न करिब २२ राउण्ड अश्रु ग्यास प्रहार गरिएको जानकारी दिए।
आइतबार साँझदेखि बस्तीबाटै हराएकी गुलाब साह खातुनको हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा सोमबार मध्यरात शव फेला परेको हो। स्थानीयहरूले मुख्य चोकलाई जाम गरेर प्रदर्शन गरिरहेका छन्।