रौतहटको माधवनारायण नगरपालिकाकी सीता देवीको घरमा छोरी अमृताका लागि विद्यालयले उपलब्ध गराएको साइकल जस्ताको तस्तै राखिएको छ।
उनले कक्षा १० सम्म पढ्न जाँदा प्रयोग गरिएका किताब र झोला पनि त्यतिकै टेबलमाथि थन्काइएको छ। भर्खर एसइई पास गरेकी अमृतालाई उच्च शिक्षा हासिल गर्ने ठूलो इच्छा थियो।
छोरी पढ्न इच्छुक भएको देखेपछि आमा सीता र बाबु रामअयोध्या साहलाई पनि उनी जतिसम्म पढ्छिन् सामर्थ्यअनुसार पढाउने आँट गरेका थिए। अब भने उनीहरूले अमृताका लागि देखेको सपना कहिल्यै पूरा हुने छैन।
घरकी कान्छी छोरी रहेकी अमृताले अभिभावकसँग कुनै कुरा किन्नका लागि हारगुहार लगाइरहनु पर्दैनथ्यो।
‘उनले कुनै पनि सामानका लागि एकचोटि भनेपछि ममी-पापाले ल्याइदिनु हुन्थ्यो,’ अमृताकी दिदी काजलकुमारीले भनिन्, ‘पसलको हरहिसाबदेखि आफ्नो पढाइसम्मको जिम्मेवारी आफैं बुझ्थिन्, कसैले उनलाई भनिरहनु पर्दैनथ्यो।’
अन्य दिनजस्तै गत कात्तिक २६ गते बुधबार राति पनि उनीहरू सँगै खानपिन गरे र घरका केही सदस्य (अमृताकी दिदी, भाउजु र बुवा) घरमै सुते। आमासँगै अमृता भने गोठमा सुत्न गइन्।
‘राति करिब ११ बजेको होला गोठको छेउमै रहेको शौचालयमा गएँ, त्यतिबेलासम्म अमृता सुतिसकेकी थिइन्, गोठ नदी छेउमै भएकोले भित्रको बत्ती बालेर दुईमध्ये एक ढोका खुल्लै छोडी बाहिरको ढोका भने कुकुर नपस्ने गरी अड्काएर ट्वाइलेट पसेँ, लगभग ४/५ मिनट भएको थियो त्यतिकैमा ठूलो आवाज आयो,’ मृतककी आमा सीताले भनिन्, ‘सुरुमा त दीपावली नजिकिएकाले टोलमा कसैले पटाका पड्काएको होला भनेर सोचें, तापनि मनले मानेन्, शौचालयबाट बाहिरिए कलमा गएर छिटो-छिटो हातखुट्टा धोएर गोठतिर फर्किंदै गर्दा चार पाँच जना पुरुष दौडिएको देखें।’
ढोकानिर गइन्। ढोका खुल्लै थियो। रुँदै आमा सीताले भनिन्, ‘भित्र बत्ती बालेर गएको त्यो पनि निभिएको थियो। बत्ती बाल्दा त मेरी छोरी खाटबाट भुइँमा लडेर छट्पटिँदै थिई।’
कञ्चटमा गोली लागेकी अमृताले आमा सीताकै काखमा प्राण त्यागिन्।
आमाछोरी गोठमा सुत्दै गरेको लगभग १५ दिन भएको थियो। यसअघि सबै जना घरमै सुत्ने गर्थे।
हत्याको स्पष्ट कारण खुलेको छैन। पीडित पक्षले हत्या गाउँकै व्यक्तिले गरेको बताइरहेका छन्।
घटनाबारे रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले गम्भीरतापूर्वक घटनाको अनुसन्धान गरिरहेको बताए।
‘घटनाका आरोपित पहिचान भइसकेका छन्,’ एसपी शाहले भने, ‘प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी नै राखेकाले पक्राउ गर्न ढिला भएको हो।’
रौतहटकी ती युवतीको हत्या प्रेम सम्बन्धका कारण भएको प्रहरीको अनुमान छ।