कोरोना भाइरसको संक्रमण भएका दुई जना दाजुभाइको केही घन्टाको अन्तरमै मृत्यु भएको छ। नोबेल मेडिकल कलेजमा उपचाररत् मोरङको लेटाङ नगरपालिका-१ का ६३ वर्षीय ईश्वरी कोइराला र ७१ वर्षीय गोपाल कोइरालाको मृत्यु भएको हो।
ईश्वरीको शुक्रबार बिहान ११ बजे र गोपालको बिहीबार बिहान ४ बजे मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए।
मृत्यु भएकामध्ये ईश्वरी कांग्रेस महासमिति सदस्य हुन्। उनी फोक्सोका बिरामी थिए।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई २ गते नोबेलमा भर्ना गरिएको थियो। भर्नापछि पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
उनलाई कोभिड वार्डमा राखेर प्लाज्मा थेरापीमार्फत उपचार पनि गरिएको थियो। ९ गते उनको रिपोर्ट नेगेटिभ आएको थियो।
‘श्वासप्रश्वासको समस्या हटेन, उहाँलाई आइसियूमा राखेर उपचार थालिएको थियो, तर मृत्यु भयो,’ दाहालले भने।
उनका दाजु गोपाल ५ गते भर्ना भएका थिए। उनका सुगर र प्रेसरको समस्या थियो।
रिपोर्ट पोजेटिभ आएपछि उनलाई पनि आइसियूमा राखिएको थियो।
कोइरालाका चार दाजुभाइमध्ये गोपाल जेठा र ईश्वरी साइँला हुन्।