नागढुंगा-कलंकी सडकखण्ड अन्तर्गत जडान गरिएको सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ।
चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज उद्घाटन गरी प्रहरीलाई हस्तान्तरण गरिएको हो।
काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारका रूपमा रहेको नागढुंगाबाट कलंकी सम्मको सडकखण्डमा सिसी क्यामरा जडान भएका छन्।
शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न, ट्राफिक नियमको उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन सिसी क्यामरा जडान गरिएको हो।
राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सिसी क्यामराले सहयोग गर्ने विश्वास लिइएको छ।
सिसी क्यामराको उद्घाटनपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सिसी क्यामरा जडान हुनु मानव सभ्यता, विकास र समृद्धिको प्रतीक भएको बताए।
नगरपालिकाले छिटो समयमा सिसी क्यामरा जडान गरेपछि सडक सुरक्षा र अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
नगरपालिकाले एक करोडको लागतमा सिसी क्यामरा जडान गरेको हो।
नगरपालिकाको वडा नं २ नागढुंगादेखि वडा नं १५ कलंकीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन्।
उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरप्रुमख घनश्याम गिरीले बताए।