माइक्रोबसमा पाकेट मार्ने दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौं तिलगंगा बस्ने २८ वर्षीय विकास राजवंशी र सिन्धुपाल्चोकका २७ वर्षीय सन्तोष लामा छन्।
महानगरीय प्रहरी परिसर, भक्तपुरको टोलीले उनीहरूलाई कौशलटार बस स्टपबाट नियन्त्रणमा लिएको हो।
बिहीबार बिहान साढे १० बजे मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरबाट माइक्रोमा रत्नपार्क जाने क्रममा एक व्यक्तिको ५० हजार रुपैयाँ पाकेट मारी भएको थियो।
ती व्यक्तिले प्रहरीको कन्ट्रोल नम्बर १०० मा खबर गरेका थिए।
सो खबर पाएपछि परिसरबाट प्रहरी नायब निरीक्षक प्रकाश बगालेको कमाण्डका खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ गरी खोजतलास गर्दा उनीहरूबाट ५० हजार रकम समेत फेला पारेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
उनीहरूमाथि चोरीको कसूर अनुसार थप अनुसन्धान तथा कारबाही भइरहेको छ।