पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरूप बन्न थालेपछि काठमाडौं महानगरपालिकाले पोखरीको सौन्दर्यता बढाउन सरसफाइ थालेको छ।
महानगरपालिकाले दैनिक नगर प्रहरीलाई खटाएर त्यहाँको हरियो लेउ र झ्याउ हटाउने र पोखरीको प्राकृतिक सौन्दर्यता बढाउने काम गरिरहेको महानगरपालिकाले जानकारी दिएको हो।
‘राजधानीको केन्द्रमा रहेको पोखरी शुद्धीकरणको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरूसँग हामीले छलफल गरिरहेका छौं,’ काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘पुनर्निर्माण प्राधिकरणबाट हामीलाई रानीपोखरी पुनर्निर्माणपछि हस्तान्तरण भैसकेको अवस्था छैन। यद्यपि, पोखरी हाम्रै क्षेत्राधिकार भित्र पर्ने भएकाले हामीले शुद्धीकरणको प्रयास गरेका हौं।’
सहरको सौन्दर्य बढाउने रानीपोखरी हरियो लेउ र झ्याउले कुरूप भयो भन्ने गुनासो सामाजिक सञ्जाल र सञ्चार माध्यममा पनि आएकाले महानगरपालिकाको ध्यानाकर्षण भएको र सरसफाइको प्रक्रिया अघि बढाएको ज्ञवालीको भनाइ छ।
‘पानीमाथि ढाकिएको हरियो लेउले पोखरीको सुन्दरता नै हराउने अवस्था आएपछि हामीले नगर प्रहरीको सहयोगमा त्यहाँको लेउ र झ्याउ हटाउन थालेका छौं। दीर्घकालीन व्यवस्था नहुन्जेलसम्म पोखरीको सरसफाइलाई महानगरपालिकाले नियमित गर्छ,’ ज्ञवालीले भने, ‘पानीमा माछा नहालेकाले हो अथवा सुरूमा हालेको पानीका कारणले त्यस्तो भएको हो। यो विषयमा पनि हामीले विज्ञहरूसँग छलफल गरेका छौं। पोखरी लेउ र झ्याउले कुरूप भयो। त्यसैले हामीले पोखरी सफा गरेर पहिलो चरणमा केही माछा हालेर हेर्ने र विस्तारै दीर्घकालिन समस्या समाधानको बाटो अपनाउने तयारी गरेका छौं।’ काठमाडौं महानगरका प्रहरी प्रमुख धनपति सापकोटाले पनि दैनिक २० बढी नगर प्रहरी खटाएर उनीहरूकै सहयोगमा पोखरीको लेउ र झ्याउ हटाउने काम गरिरहेको जानकारी दिए।
‘दुई दिन लगाएर करिब ५० जना नगर प्रहरीको सहायतामा पोखरीको झण्डै आठ टिपर जति लेउ र झ्याउ झिक्ने काम भएको छ।’
उनले प्राधिकरणसँग लेउ मार्ने विषादी प्रयोग गर्ने लगायतका विकल्पका बारेमा छलफल भैरहेको जानकारी दिए।
अहिले पोखरीमा पानीको मात्रा घट्दै गएकाले थप समस्या भएको भन्दै पोखरीमा पानी भर्ने विषयमा पनि छलफल भैरहेको सापकोटाले जानकारी दिए। प्राधिकरणका इन्जिनियर राजुमान मानन्धर पनि पानी शुद्धीकरणका लागि विभिन्न विकल्पमाथि छलफल भैरहेको भन्दै काठमाडौं महानगरपालिकाले सरसफाइका लागि गरेको प्रयास सकारात्मक भएको जानकारी दिए। ‘अहिलेसम्म काठमाडौं महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण भएको अवस्था छैन,’ मानन्धरले भने, ‘यो अवस्थामा काठमाडौं महानगरपालिकाले सफा गर्ने असल उद्धेश्यले गरेको कार्य सकारात्मक छ।’
प्राधिकरणले पनि त्यहाँको लेउ दीर्घकालीन रूपमा हाटाउने र पोखरीलाई सफा बनाउने उपायको खोजी गरिरहेको सन्दर्भमा महानगरपालिकाले गरेको प्रयासलाई सकारात्मक रूपमा लिएको उनले बताए।
पानी शुद्धीकरणमा विभिन्न विकल्पमाथि छलफल गरिरहेको भन्दै उनले पानी पम्पिङ गर्ने लगायतका बारेमा पनि सोचिरहेको जानकारी दिए।
‘अहिले महानगरपालिकाले अस्थायी रूपमा जे गरिहेको छ। त्यो सकारात्मक छ। तत्काल सफा नगर्ने हो भने पोखरीको सबै पानी दुर्गन्धित हुने खतरा बढी हुन्छ। पानी पम्पिङ गर्दा पानीमा पर्याप्त अक्सिजन मिसिएर घुल्न पाउँछ । यसका कारण लेउ उम्रन पनि पाउँदैन। यो विषयमा पनि हामी सोचिरहेका छौं’ उनले भने, ‘लेउ खाने जातिका माछा हालेर पनि रानीपोखरीलाई सफा र सुन्दर राख्न र पोखरीको सौदर्य बढाउन सकिन्छ भन्ने विकल्पमा पनि छौं।’
उनले यसअघि महानगरपालिकाकै सहकार्यमा रानीपोखरीमा पानी भर्ने काम भएको भन्दै अहिले पानीको लेवल घटेको जानकारी दिए।
‘हामीले सुरूमा पाँच फिट २ इन्च पानी पोखरीमा भरेका थियौं। अहिले पोखरीमा पानीको लेवल कम भएको छ। त्यहाँ करिब तीन फिट जति मात्रै पानी छ,’ उनले भने, ‘तीन करोड २२ लाख लिटर जति पानी हामीले पोखरीमा भरेका थियौं। अहिले करिब २ करोड लिटरको हाराहारीमा पानी रहेको अनुमान गरेका छौं।’
पोखरीमा पानी भर्ने सन्दर्भमा पनि महानगरपालिकासँग छलफल भएको र केही दिन भित्रमै पोखरीमा पानी टनाटन भरिने जानकारी दिए।