महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटना न्यूनीकरण गर्न काठमाडौंका विभिन्न स्थानमा टल्किने खालका रबरका कोण राखेको छ।
महाशाखाले सडक विभाग, स्थानीय निकाय तथा विभिन्न संघसंस्थासँग समन्वय गरी कोण राखेको हो।
काठमाडौं उपत्यकाकामा बढी दुर्घटना हुने चक्रपथ बाहिर २६ स्थान र भित्र ८ स्थान पहिचान गरेको महाशाखाले जनाएको छ।
रातको समयमा सडकबत्ती नहुँदा जथाभावी बाटो काट्दा र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको छ। यस्ता दुर्घटनालाई न्यूनीकरण गर्न रबरका कोण राखिएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) जनक भट्टराईका अनुसार काठमाडौं उपत्यकाका विभिन्न सडकखण्डमा ४ सय ३० थान कोण राखिएका छन्।
एयरपोर्ट नयाँ गेट, कार्गो, तिलगंगा, बालकुमारी, भाटभटेनी ओरालो, बल्खु चोक, सीता पम्प, खसीबजार, सीतापाइला उकालो, बाफल, सानो भर्याङ, वनस्थली, बबरमहल लगायतमा कोण राखिएको हो।
यसअघि महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी पुस १३ गते बालकुमारीदेखि सानेपासम्मका १३ स्थानमा रबरको कोण हालेको थियो।
ती स्थानमा कोण राख्नु १५ दिनअघिसम्म ४७ वटा दुर्घटना भएको महाशाखाले जानकारी दियो। सो दुर्घटनामा परी ३ जनाको मृत्यु र ३१ जना घाइते समेत भएको थियो।
कोण र सडक बत्ती जडानपछि भने दुर्घटना न्यूनीकरण भएको महाशाखाको दाबी छ। त्यसयता अहिलेसम्म २९ वटा दुर्घटना भएको र त्यसमा १४ जना घाइते भएको प्रहरीले जनाएको छ।