भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको धातुका मूर्ति रुपन्देहीबाट बरामद गरिएको छ। भैरहवास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका लाखौं रुपैयाँका धातुका मूर्ति बरामद गरेको हो।
सशस्त्र प्रहरीले मंगलबार दिउँसो नेपाल भारत सीमाक्षेत्र भैरहवाको बालापुरबाट लाखौं रुपैयाँका मूर्ति, कपडा, भाँडासहित एउटा गाडी बरामद गरेको हो।
सशस्त्रले लु १ ज ३५४९ नम्बरको गाडीबाट धातुबाट बनेका सानाठूला ३५ थान त्रिशुलसहित ६ सय ३७ थान मूर्ति, ४ सय ८ पिस जिन्स सट, १ सय ६ पिस लेडिज टाउजर, ६३ पिस स्टिलको पन्यूँ बरामद गरेको हो।
सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँका अनुसार बरामद भएका ती सामानको बजार मूल्य ९ लाख ४२ हजार रुपैयाँ भन्दा बढी छ।
विभिन्न समयमा भन्सार छलेर नेपाल भित्र्याइएका ती मूर्ति जम्मा गरेर मंगलबार अन्यत्र लैजाँदै गरेको हुनसक्ने खनियाँले बताए।
यसबारे थप खोजी भइरहेको र बरामद गरेका सबै सामान र गाडी भैरहवा भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले गएको एक महिनाको अवधिमा रुपन्देहीका विभिन्न स्थानबाट करिब ८७ लाख रुपैयाँ बराबरका भन्सार छलेर नेपाल भित्र्याइएका अवैध सामान बरामद गरी भैरहवा भन्सार कार्यालय बुझाएको जनाएको छ।