बाँकेमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधिको अवैध कारोबार हुने गरेको पाइएको छ।
नेपालगञ्ज मेडिकल कलेजको हाताभित्रै सञ्चालित फार्मेसीले उक्त औषधिको कारोबार बिना बिल बिजक बिक्री गरेको पाएपछि सञ्चालकलाई दुई लाख जरिवाना गरिएको छ।
सञ्चालित बुद्ध नेपालगञ्ज फार्मेसीले बिना बिल रेम्डेसिभिर औषधि बिक्रि गरेको पाइएपछि उपभोक्त संरक्षण ऐन २०७५ बमोजिम दुई लाख जरिवाना गरिएको हो ।
उक्त फार्मेसीले रेम्डेसिभिर औषधि २१ भाइल बिलबिना नै बिक्री गरेको पाइएको हुँदा दुई लाख जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्थापन कार्यालय , वाणिज्य कार्यालय र उपभोक्ता संरक्षण मञ्च बाँकेको संयुक्त बजार अनुगमन टोलीले सोमबार नेपालगञ्जबाट ३८ सिलिण्डर अक्सिजन सिलिण्डर बरामद गरेको छ।
नेपालगञ्जका बिभिन्न स्थानमा अनावश्यक रुपमा मौजदात गरी राखिएको अवस्थामा फेला परेपछि ग्यास सिलिण्डर बरामद गरी जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
उक्त टोलीले अनुगमनका क्रममा खजुरा रोडमा रहेको शुभ राईस मिल नेपालगञ्जबाट उपभोग्य म्याद समाप्त भएको एक लाख दुई हजार मूल्य बराबरको एक हजार २० किलो दाल पनि बरामद पछि नष्ट गरेको जानकारी दिएको छ।