कोरोना संक्रमण भएर अस्पताल भर्ना भएकी पूर्वरानी कोमल शाह डिस्चार्ज भएकी छिन्।
शुक्रबार नर्भिक इन्टरनेसनल अस्पतालले २१ दिनअघि भर्ना भएकी शाहलाई डिस्चार्ज दिएको हो।
उनी अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएको र उनीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि सँगै घर फर्केको उपचारमा संलग्न डा. जेपी जैसवालले बताए।
कोरोना संक्रमण भएर पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती नै अस्पताल भर्ना भएका थिए। पूर्वराजा भने वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए।
अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो। उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो।
अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो। निरन्तरको उपचारले उनको अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो।
भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा-रानीलाई कोरोना संक्रमण देखिएको थियो।