झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै केही व्यवसाय भने खुकुलो बनाइएको छ।
आइतबार डिसिसिएमसीको बैठकले नागरिकको जीवनलाई सहज बनाउन कृषि, खाद्यान्न, हार्डवेयर, बीउ विजन, वर्कसपमा खुकुलो बनाइएको हो।
आज सम्पन्न बैठकले खाद्यान्न, फलफूल, तरकारी माछामासु, दूध डेरी, पुस्तक पसल, हार्डवेयर पसल बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ।
हाट बजार, पार्टी, भोज लगायतका भीडभाड हुने कार्य नगर्न समितिले आग्रह गरेको छ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्ने, एटिएम २४ घण्टा खुला राख्न सुचित गरिएको छ।
यस्तै, सहकारीहरूलाई घर पसल तथा समूहमा गई बचत संकलन गर्ने कार्य हाललाई स्थगित गरिएको छ।
मल खाद्य, बीउविजन, कुखुराका चल्ला, दाना,पशुपंक्षीका आहारसम्बन्धी पसललाई बिहान १० देखि ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ।
हार्डवेयरसम्बन्धी पसल बिहान ६ बजेदेखि १० बजेसम्म खुला गर्न पाइने छ।
डिसिसिएमसीले अन्य नियम यसअघिकै पालना गर्नुपर्ने जनाएको छ।
निषेधाज्ञा अवधिभर सार्वजनिक एवम् निजी सवारी सञ्चालनमा रोक लगाएको छ।