रूपन्देही प्रहरीले १४ लाख ४४ हजार रूपैयाँ बराबरको भन्सार छलीको सामग्री बरामद गरेको छ।
भारतबाट नेपाल ल्याइँदै गरेको चिनी, केराउ, लत्ताकपडालगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
लु२ख १२९९ नम्बरको बलेरोबाट ती सामग्री बरामद भएको र बरामद भएको सामान भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरी नायब उपरीक्ष सत्यनारायण थापाले बताए।
यस्तै, बारामा प्रहरीले भन्सार छलेर ल्याइएको सामग्री बरामद गरेको छ।
मंगलबार इलाका प्रहरी कार्यालय सिमरा, इलाका प्रहरी अमलेखगञ्ज र प्रहरी चौकी पथलैयाको टोलीले ६ लाख ३९ हजार मूल्य बराबरको भन्सार छलीको सामग्री बरामद गरेको हो।
बरामद वस्तुमा कुर्ता-सुरुवाल, थान कपडा, एलइडी बल्ब, ब्याट्री, सूर्ति, मेसिनरी सामान, कुकर, नौनी घ्यूलगायत रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।
बरामद वस्तु राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।
उता कैलाली प्रहरीले धनगढी उप-महानगरपालिका-३ बाट १ लाख ८० हजार रूपैयाँ बराबरको कम्पयुटरको सिपियु बरामद गरेको छ।