वृहत नागरिक आन्दोलनले आइतबार संविधान संशोधनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ।
संविधान संशोधन मार्च नाम दिइएको उक्त प्रदर्शन माइतीघरबाट सुरू भएर नयाँ बानेश्वरस्थित संसद भवनअगाडिसम्म पुगेर सभामा परिणत भएको थियो।
सभामा विभिन्न समुदायबाट प्रतिनिधित्व गर्दै विभिन्न वक्ताहरूले बोलेका थिए। उनीहरूले अहिलेको संविधान कसरी विभेदकारी छ भन्नेबारे बताएका थिए।
सभामा सहभागीहरूले ‘असोज तीन, कालो दिन’, नश्लीय संविधान- मुर्दावाद लगायत नारा लगाएका थिए। प्रदर्शनकारीहरूले यस्ता विभिन्न नारा लेखिएका प्ले कार्डहरू पनि बोकेका थिए।
सभामा बोल्दै नागरिक अभियन्ता नारायण वाग्लेले अहिलेको सरकार र संविधान अग्रगमनकारी नभएको बताए। उनले २०७२ सालमा संविधान जारी हुँदा जे जारी भयो र जसरी जारी भयो त्यसको विरोधमा नागरिकहरू आन्दोलनमा होमिएको बताए।
‘विविधतापूर्ण समाजको प्रतिनिधित्व नगर्ने संविधान दमन गरी जारी गरियो,’ वाग्लेले भने, ‘त्यसको जवाफमा हामी एकतावद्ध भएर आन्दोलनमा आएका छौं।’
वृहत नागरिक आन्दोलनको अर्थ संख्यामा ठूलो नभई चेतना र जागरणको गहिरो आन्दोलन भएको वाग्लेको भनाइ छ।
‘यो चेतना र अग्रगमनको आन्दोलन हो। बञ्चिति र बहिष्करणमा परेकाहरूको मुक्तिको आन्दोलन हो,’ वाग्लेले भने।
उनले गत वर्ष आफूले तेस्रो जनआन्दोलन घोषणा गरेको सम्झना गर्दै यो आन्दोलन केही दिनका लागि नभई लामो समयका लागि भएको तर्क गरे।
अहिलेको सरकार पनि अग्रगमनकारी नभएको वाग्लेले बताए। गणतन्त्र आए पनि सरकारहरूले राणाकालीन पदक बक्सिस दिने परम्परा जारी राखेको उनले बताए।
‘यो कस्तो संविधान र सरकार हो भन्ने कुरा आज संविधान दिवस कसरी बनाए भन्ने कुराले पनि देखाउँछ। चाकडी, चाप्लुसी गरेर तक्मा दिइयो। तक्मा बाँड्ने सरकार पञ्चायती सरकार हो। सरकारले लोकतन्त्र स्वीकार गर्छ भने तक्माजस्ता बक्सिस परम्परालाई निरन्तरता दिनुहुन्न,’ वाग्लेले भने।