काठमाडौंको तिलगंगाबाट एक जना गैंडाको खागसहित पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका वडा नम्बर ६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ गौशालाको तिलगंगामा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।
उनीबाट एउटा ४५ ग्राम गैंडाको खाग बरामद भएको हो। थप अनुसन्धान गर्न बस्नेतलाई डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा बुझाएको छ।