नेपाल प्रहरीका पूर्वमहानिरीक्षक मोतिलाल बोहरालगायतको घरबाट एभोकाडो चोरी गरेको आरोपमा १४ जना पक्राउ परेका छन्।
काठमाडौंको बानेश्वरस्थित मिलनचोक क्षेत्रमा एभोकाडो चोरी गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको हो।
चोरी गरेको भन्ने खबर आएपछि बिहीबारसम्म १४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चोरीको उजुरी भने पूर्वमहानिरीक्षक बोहराले दिएका थिए। उजुरीपछि महानगरीय अपराध महाशाखा र प्रहरी वृत्त बानेश्वरको टोली खटिएको थियो।
'पूर्वमहानिरीक्षक बोहरा सरको घर कम्पाउन्ड लगायतमा एभोकाडोहरू चोरी हुने गरेको भन्ने खबर आएको थियो,' महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुँवेर खापुङले भने।
सिभिल प्रहरी खटिएर उनीहरूलाई पक्राउ गरिएको हो। बानेश्वर क्षेत्रमा एभोकाडो लामो समयदेखि नै चोरी हुँदै आएको थियो। कसैले प्रहरी कार्यालयमा उजुरी गरेका थिएनन्।
पूर्वआइजिपी बोहराले नै चोरी भएको भनेर उजुरी गरेपछि प्रहरीले अनुसन्धान गरेको थियो। अनुसन्धान गर्न वृत्त बानेश्वरले केही वर्ष अघिको फाइल पल्टाएको थियो।
त्यसै शिलशिलामा प्रहरीले गत वर्ष शंखमुलमा एभोकाडो चोरी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको थियो। उनैको समूहले चोरी गरेको हुनसक्ने भन्दै प्रहरीले उनलाई बोलाएको थियो।
उनैले चोरी गर्ने व्यक्तिहरूको नाम बताएपछि प्रहरीले पक्राउ गर्न थालेको हो। पक्राउ पर्नेहरू प्राय: किशोर रहेको वृत्तले जनाएको छ।
त्यहाँ एभोकाडो चोरी भएको बुझ्दा क्विन्टल नै पुग्ने प्रहरीको भनाइ छ।
'त्यहाँ छरछिमेकतिर बुझेर हिसाब गर्ने हो भने क्विन्टलका क्विन्टल चोरी भएको देखिन्छ। तर उनीहरूले सबै लगेर सस्तोमा बेच्ने गरेको हुँदा केही बरामद भएन,' प्रहरी स्रोतले भन्यो।
सुरूमा कसैले रिपोर्ट नगरे पनि अहिले सबैले त्यसबारे जानकारी गराउँदा थुप्रै भएको बताए।
रातको समयमा चोरी गरी उनीहरूले पुरानो बानेश्वरका तरकारी बजारहरूमा लगेर बजारको मूल्यभन्दा सस्तोमा बच्ने गरेको प्रहरीले जनाएको छ। आफूहरूको घरमै फलेको भन्दै २०-२५ किलो गरी बच्ने गरेको आरोप छ।
पक्राउ परेकामध्ये ४ जनालाई हिरासतमा राखेर अुनसन्धान गर्न अदालतबाट अनुमति लिएको छ।
एभोकाडोको बजार मूल्य किलोको तीन सयदेखि पाँच सय रुपैयाँसम्म छ।