लगातारको बर्षासँगै आएको बाढीले कञ्चनपुरमा नदीको बीचमा फसेका पाँच जनाको उद्धारमा समस्या आएको छ।
भीमदत्त नगरपालिकाको खल्लामसेटीमा बस्ने एकै परिवारका पाँच जना महाकाली र सेल्फीडाँडाको खोलाको बीचमा सोमबार रातीदेखि फसेका छन्।
उनीहरु रुखमा बसेर उद्धारको पर्खाइमा रहेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले उनीहरुको उद्धारको प्रयास भइरहेको बताए। ‘त्यहाँ पुग्न बाटोमै अरु खोलाको बाढीले समस्या भइरहेको छ, हाम्रो टोली पनि पुग्न सकेको छैन,’ उनले भने।
जिल्ला प्रशाशन कार्यालय कञ्चनपुरका अनुसार गृह मन्त्रालयले उनीहरुको उद्धारका लागि पठाउन लागेको हेलिकप्टर खराब मौसमका कारण आउन सकिरहेको छैन।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले उद्धारका लागि हेलिकप्टर आउने तयारीमा रहेको बताए। अहिले पनि कञ्चनपुरमा पानी निरन्तर परिरहेको छ।
महाकाली नदीमा पानीको बहाव ५ लाख क्युसेक बढी पुगेको छ। खतराको तह पार गरेपछि महाकाली नदी किनारका बासिन्दालाई सजग रहन सुचित गरिएको छ।
जिल्लामा धान खेतीमा ठूलो क्षेती भएको छ। यसको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ। महाकाली नदी किनारमा निर्माणाधीन भाइरल रोड एकसय मिटर जति कटान भएको छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा अत्याधिक बर्षा भइहरेकोले महाकालीमा बाढी घटेको छैन।