‘डान्स स्टेज’ मा रोजगारीको प्रलोभन देखाएर युवतीलाई यौन व्यवसायका लागि बेचबिखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
आफू कोरियोग्राफर भएको बताउँदै युवती बिक्री गर्ने चितवन साविक जगतपुर गाविस घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने विश्वबन्धु घिमिरेलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो।
घिमिरेलाई ब्युरोबाट खोजतलास गर्ने क्रममा कात्तिक ६ गते भरतपुर महानगरपालिका वडा नम्बर २ बाट पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ।
घिमिरेले कालिमाटी काठमाडौंमा नृत्य सिक्ने क्रममा चिनजान भएकी एक युवतीलाई दुबईमा नृत्य गर्न इच्छुकहरूलाई अवसर भएको भन्दै प्रलोभनमा पारेका थिए।
त्यहाँ 'स्टेज शो'मा नृत्य गर्दा तीनदेखि ६ महिनासम्म मासिक एक लाख कमाइ हुने बताएका थिए। राम्रो नृत्य गर्दै गएमा मासिक चार लाखसम्म कमाइ हुने लोभ देखाएका थिए।
ती युवतीले दुबई जान कागजात पेश गरेपछि उमेर कम भएकाले दुबई जान नमिल्ने बताउँदै घिमिरेले भारतको बैंगलुरुस्थित स्टेज शोमा काम लगाइदिने प्रलोभन देखाएर बैंगलुरु पुर्याएको ब्युरोले बताएको छ।
त्यसपछि नयाँ बानेश्वरबाट कलंकी, काँकडभिट्टा हुँदै भारतको सिलगुढीबाट हवाई मार्गमार्फत् बैंगलुरु पुर्याइ त्यहाँको चिफ इन र सेनोरीता रेष्टुरेन्टमा पीडितलाई जबरजस्ती यौन व्यवसायमा लगाउने गरी बेचबिखन गरेका थिए।
हाल ती युवतीलाई माइती नेपालले उद्धार गरी नेपाल फर्काइसकेको छ। फर्किएर पीडितले दिएको जाहेरीका आधारमा ब्युरोले घिमिरेलाई पक्राउ गरेको हो।
काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।
अनुसन्धानका क्रममा घिमिरेले विगत ३० वर्षदेखि साधना कला केन्द्र लगायतका विभिन्न केन्द्रहरूमा प्रशिक्षकका रूपमा काम गर्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ।