प्रहरीले नक्कली नोटसहित महोत्तरीबाट बुधबार राति एक जनालाई पक्राउ गरेको छ।
गौशाला नगरपालिका-५ गौशाला बजारबाट प्रहरीले सोही नगरपालिका-९ डुमरवाना घर भएका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो।
उनलाई ८ लाख ८२ हजार ४२० नक्कली नेपाली नोट, दुई लाख ७७ हजार ९७० भारतीय नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने उपकरण, कटिङ गरिएको भारतीय र नेपाली नोटहरूसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महतोले जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोली उनको कोठामा पुगेको थियो।
उक्त ठाउँबाट तयारी तथा कटिङ नगरेको विभिन्न दरको नोट गरी ८ लाख ८२ हजार ४ सय २० नक्कली नेपाली रुपैयाँ, विभिन्न दरको कटिङ गरिएको र नगरिएको नोट गरी २ लाख ७७ हजार ९ सय ७० नक्कली भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ
विभिन्न दरको नोट गरी ५ हजार ७० नेपाली सक्कली रुपैयाँ, विभिन्न दरका २६ सक्कली भारतीय रुपैयाँ, १ थान कैची, १ थान प्रिन्टर, १ थान रवर स्ट्याम्प, लालीगुराँस छाप भएको फलामको ३ थान ढ्याक, महात्मा गान्धी छाप भएको फलामको १ थान ढ्याक, ३ रिम कम्प्युटर पेपर, २ थान काठको ट्रेस फर्मा बरामद गरेको छ।