अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीविरूद्ध उजुरी परेको थियो।
उनले सेवा अवधिमा एक करोड चौसठ्ठी लाख उनानब्बे हजार सात सय पच्चीस पैसा रुपैयाँ बढी रकम गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
अख्तियारले आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम असुल उपर/जफत गरी पाउन मागदाबी समेत गरेको छ।
उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्त थपलियाको नाममा घरजग्गा तथा बैंक खातामा राखेका थिए।
अख्तियारले उनकी श्रीमती मुना पन्त थपलियासमेतलाई प्रतिवादी बनाई सम्पत्ति जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।