ललितपुरमा मंगलबारदेखि कोरोनाविरूद्ध बुस्टर डोज खोप दिने भएको छ।
ललितपुर जिल्लाका विभिन्न पालिकामा रहेका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा बुस्टर डोज दिन लागेको हो।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्टका अनुसार मंगलबारदेखि सुरू हुने खोप अभियान बिहीबारसम्म जारी रहनेछ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सार्वजनिक फोहोर संकलन गर्ने सरसफाइकर्मी, महिला स्वयम् सेविका लगायतलाई बुस्टर डोज दिइने विष्टले बताए।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू, सार्वजनिक क्षेत्र (सरकारी कार्यलय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सञ्चारकर्मी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक आदि) लाई लक्षित गरी बुस्टर खोप दिन लागेको हो।
बुस्टर खोप लगाउन यसअघि खोप लगाएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ। त्यहाँ जाँदा पहिलेको खोप कार्ड अनिवार्य लिएर जान अनुरोध गरेको छ।