उत्तरतिर लस्करै चाँदीझैँ सेता देखिने हिमशृङ्खला। पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी।
म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौर फाँटको बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा हिजोआज युवायुवतीको भीड छ।
बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउँ नै पहेँलपुर भएको छ। तोरी फुलेको खेतको फाँटमा कालोपत्र गरिएको चिल्लो सडक मानिसहरुको भीडभाडले भाइरल बनेको छ।
रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ। झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण भुलिरहेका छन्।
स्थानीय सुनिता बोगटीले घर अगाडिको सडकमा दिनहुँ भीडभाड होला भनेर कहिल्यै सोचेकी थिइनन्। घरअगाडि कालोपत्र सडक आसपासमा पहेँलपुर फुलेको तोरीबारीमा भीडभाड हुन थालेपछि उनी दंग छिन्।
केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन्।
म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्ने गरेको छ।
कोरोना सङ्क्रमणको रोकथामका लागि स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाउने, भीडभाड गर्न नपाइने सूचना जारी गरेको छ। तर गत शनिबार माघेसङ्क्रान्तिको दिनमा करिब साढे दुई सयभन्दा बढी तोरीबारीमा तस्बिर लिन आएपछि प्रहरीको टोलीले भीड नगर्न आग्रह समेत गरेको थियो।
बेनी–बागलुङ सडकखण्डको प्रयोग गरी तोरीबारीमा पुग्नेहरूको सङ्ख्या अत्यधिक भएपछि प्रहरीले शनिबार प्रवेशमा समेत कडाइ मात्रै गरेर रत्नेचौर प्रहरी चौकीबाट टोली नै परिचालन गर्नुपर्ने बाध्यता बन्यो।
‘तोरीबारीमा टिकटक बनाउनेहरू धेरै भेटिन्छन्, आन्तरिक पर्यटकका कारण रत्नेचौर भाइरल भएको छ,’ स्थानीय भानु माविका प्रधानाध्यापक भरत खत्रीले भने।
उनकाअनुसार तोरी उत्पादन हुने सिजनबाहेक पनि कालोपत्र सडकमा तस्बिर, भिडियो खिचेर टिकटकमा राख्ने मानिसहरू आउने गरेका छन्।
चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमालको दृश्यसँगै समथर फाँटको पहेँलपुर तोरीले स्थानीयको व्यापारमा समेत सघाएको छ।
तोरीमा रमाउनै आसपासका क्षेत्रमा वनभोजसहित हालै खुलेका होटेलको कारोबारसमेत बढेको स्थानीय युवा सन्तोष महतको भनाइ छ।
‘तोरीबारी र कालोपत्र सडकले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ, घुम्न आउनेहरूको चहलपहललाई स्थानीयले राम्रो मानेका छन्,’ उनले भने।
तोरीबारीमा गएर फोटो र भिडियो खिच्दा क्षति हुने भएकाले धेरैले सडक आसपासबाटै खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्।
उता बेनी–४, सिङ्गा तातोपानीबाट घुम्न गएकी मोनिका शेरचनले टिकटकलगायत सामाजिक सञ्जालमा दैनिकजसो तोरीबारीको भिडियो र तस्बिर देखेपछि घुम्न आएको बताइन्। ‘टिकटकमा देखेकोभन्दा राम्रो लाग्यो, एकैपटक भीडभाड हुँदा मेला आएजस्तै भएको थियो,’ उनले भनिन्।
कालोपत्र सडकबाटै तस्बिर लिँदासमेत प्रहरीले अनावश्यक दुःख दिएको भन्दै घुम्न गएकाहरूले आक्रोश पोखेका थिए। पूर्वसूचना नदिई प्रहरीले दुःख दिएको घुम्न गएकाहरूको गुनासो थियो।
स्थानीयले समेत तोरीलाई क्षति नहुने गरी तस्बिर र भिडियो लिन दिनुपर्ने भन्दै घुम्न गएकाहरुको पक्षमा बोलेपछि सबै उत्साहित भएका थिए। यता बढ्दो भीडभाडका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेको भन्दै हटाएको प्रहरीले जनाएको छ।
रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डअन्तर्गत ९०० मिटरको कालोपत्र सडकमा रत्नेचौर र उपल्लाचौरका करिब पाँच घरधुरीले तोरी खेती गरेका छन्।
घरआँगन, खेतबारीमा लगाएको तोरीको तेल खोज्दै गाउँमा आउने ग्राहकलाई समेत बिक्री गर्न नसकिएको कृषकको भनाइ छ।
नेपालमा पाइने दुई रङको तोरीमध्ये म्याग्दीका पहेँलो तोरी खेती हुन्छ। पहेँलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्रा हुन्छ।
साढे दुई दशक अगाडिसम्म गाउँमा रहेको तोरी मिलमा जिल्लाका अन्य स्थानबाट समेत पैदल हिँडेर आउने गरेका थिए। तोरीमा रासायनिक मल, विषादीको प्रयोग न्यूनीकरण गर्न पहल गरिएको छ।
तेलहन बालीमा पर्ने तोरी ७० देखि ९० दिनमा पाक्छ। समथर भूभाग रहेको रत्नेचौरमा अहिलको तुलनामा दोब्बर तोरी उत्पादन गर्न सकिने कृषिका प्राविधिकहरुको भनाइ छ।
तोरीबारीले रत्नेचौर कृषि पर्यटनको गन्तव्य बनेकाले स्थानीय तहबाट समेत तोरीको पकेट क्षेत्र बनाउन मागसमेत गरेका छन्।
छिमेकी बागलुङको कुडुले फेदीमा समेत प्रशस्तै तोरी हुन्छ। तोरीको बोटलाई सागका रुपमा तरकारीसमेत बनाउने गरिन्छ। गाउँबस्तीमा फुलेको तोरीले ग्रामीण सुन्दरतालाई समेत निखार ल्याउने गरेको छ।