बाँकेमा एक जना वडाध्यक्ष र बाँकी तीन जना ब्राउन सुगरसहित पक्राउ परेका छन्।
जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष ६४ वर्षीय रामचरण थारु तीन सय दश मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।
कोहलपुर नगरपालिका वडा नं. ११ बाट वडाध्यक्ष थारुसँगै २५ वर्षीय सुरज थारु, ३४ वर्षीय सुन्दर थारु र ३७ वर्षीय ध्रुबकुमार थारु सोमबार दिउँसो पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र घिमिरेले जानकारी दिए।
पक्राउ परेका वडाध्यक्षसहित चार जनाविरूद्ध घटना अनुसन्धानका लागि मंगलबार पाँच दिनको म्याद थप भएको डिएसपी घिमिरेले बताए।
वडाध्यक्ष थारुले पहिलेदेखि नै ब्राउन सुगर सेवन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई निगरानी गर्दै आएको थियो।
त्यसै क्रममा एनटिभीको कार्यालय पछाडि पट्टी बसेर ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।