स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा दोलखाको शैलुङ गाउँपालिका देशभरीकै उत्कृष्ट भएको छ।
स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिको बारेमा लेखाजोखा गरी सुशासन कायम राख्न गरिएको स्वमूल्यांकनमा गाउँपालिकाले ८९.५ प्रतिशत अंक प्राप्त गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूको विभिन्न १० वटा विषय क्षेत्रको एक हजार २४ वटा सूचकाङ्क तयार गरेर स्वमूल्यांकन गर्ने गर्छ।
शैलुङ गाउँपालिकाले गत वर्ष पनि देशभरीका गाउँपालिकामध्ये सबैभन्दा बढी अंक ल्याउन सफल भएको थियो।
‘गत आर्थिक वर्ष देशभरीका ४ सय ६० वटा पालिकाहरूमध्ये सबैभन्दा ८८ नम्बर ल्याउन सफल भएको थियो,’ पालिकाका अध्यक्ष भरतप्रसाद दुलालले भने, ‘२०७६ सालमा गाउँपालिकालाई बागमति प्रदेशले प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा सम्मान गरेको थियो।’
उनकाअनुसार कार्यसम्पादन, महालेखा परीक्षकको कार्यालयको वित्तीय प्रतिवेदन लगायतका सूचकको आधारमा प्रदेशका १३ वटा जिल्ला १ सय १९ स्थानीय तहमध्ये गाउँपालिका उत्कृष्ट भएको थियो।