नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ । देशको पश्चिमी भागबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशैभर क्रमशः सोमबारसम्म पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविद् गंगा नगरकोटीका अनुसार आज काठमाडौं उपत्यकामा दिउँसो तिर बादल लाग्ने र साँझ छिटपुट वर्षा हुने सम्भावना रहेको छ।
‘पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौं उपत्यकामा घाम कम लाग्ने, दिउँसोतिर बादल लाग्ने र साँझपख छिटपुट वर्षा हुने सम्भावना रहेको छ’, नगरकोटीले सेतोपाटीसँग भनिन्,‘यो क्रम भोलि पनि रहन्छ र सोमबारबाट कम हुने देखिएको छ।’
नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर अवस्थामा रहेको र शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमश नेपालभर प्रभाव पार्ने मौसमविद् नगरकोटीले बताइन्।
उक्त प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ ।
देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही तराईका भूभागमा आंशिकदेखि सामान्यतया बदली भई देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।