काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ।
आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन्।
पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए। उनले स्थानीयको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने बताए।
‘काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ। जहाँ गयो त्यहीँ ट्राफिक जाम हुन्छ। त्यसमा पनि चाबहिल चोक अति जाम हुने ठाउँ हो। बाटो फराकिलो छ तर जाम हुन्छ’, मेयर शाक्यले भने, ‘पहिला पनि यहाँ स्थानीयहरुको मागअनुसार चाबहिल चोकको दक्षिणपटि एउटा पुल हामीले बनाइसक्यौं। त्यो पुल धेरै उपयोगी पनि भयो। धेरैले सरहाना पनि गरे। यस्तै पुल अर्को ठाउँमा पनि बनाइदिनुपर्छ भनेपछि चाबहिल चोकको उत्तरपटि शिलान्यास गरेका हौं।’
उनले चाबहिल सँगै आफूहरूले मित्रपार्कमा पनि पुलको शिलान्यास गरेको बताए।
‘अर्को एउटा पुल फेरि मित्रपार्कमा पनि शिलान्यास गरिएको छ। यहीँ बाटोमा एउटा पुल कम्प्लिट गरिसक्यौं, एउटा कम्प्लिट हुने अवस्थामा छ। जयबागेश्वरीमा पनि शुरु भइसकेको छ, तार व्यवस्थापनका लागि केही समय लागिरहेको छ’, उनले भने, ‘त्यो पनि चाँडै सकिन्छ। यो क्षेत्रमा नै ४ वटा पुल भइसकेपछि सडक दुर्घटना पनि कम हुने र पैदल यात्रीलाई धेरै सहज हुने अनुमान छ। स्थानीयवासीको सहयोग भए समय अघि नै काम सक्छौं।’
पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्शनले पाएको छ। २०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नु पर्नेछ। दुवै पुल ३३ मिटर लम्बाई र २ मिटर चौडाईको हुनेछ भने यसमा कार्यावेश रकम भ्याटसहित १ करोड ३० लाख ४२ हजार ५ सय ७८ रूपैया ६४ पैसा छ।