काठमाडौंमा टेलिकमका तार चोरी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले शनिबार टेलिकमका तार चोरी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
बझाङ घर भई काठमाडौंको गैरिधारा बस्ने २३ वर्षीय प्रेमबहादुर बोहरा, कैलाली घर भई सुकेधारा बस्ने २५ वर्षीय नमेश बुढा, गोरखाका १८ वर्षीय राजन घले, कैलाली घर भई बानेश्वर बस्ने २४ वर्षीय गोविन्द साउँद र काभ्रे घर भई नयाँबजार बस्ने ३० वर्षीय प्रविन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूमाथि तार्केश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलका तारहरू चोरी गरेको आरोप छ। त्यस क्षेत्रमा टेलिकमका तारहरू चोरी भएको भन्ने सूचना प्रहरीले पाएको थियो।
सोही सूचनाको आधारमा खटिएको महानगरीय प्रहरी वृत्त बालाजु र प्रभाग धर्मस्थलीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
टोलीले शनिबार दिउँसो धर्मस्थली महांकाल मन्दिर नजिकै प्रदेश नम्बर ३-०१-०२३ च ४३०१ नम्बरको गाडीलाई रोकेर चेक गरेको थियो। गाडी जंगलतर्फ जाँदै थियो।
प्रहरीले रोकेर गाडीमा हेर्दा तारहरू फेला पारेको हो। गाडीबाट प्रहरीले ५० वटा लाइन जडान गर्न मिल्ने १४ मिटर र १०० वटा लाइन जडान गर्न मिल्ने १०० मिटरको तार बरामद गरेको हो।
उनीहरूबाट तार काट्न प्रयोग हुने औजारहरू पनि बरामद भएको परिसरले जनाएको छ।
प्रहरी वृत्त बालाजुले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।