आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा काठमाडौंको एक कन्सल्टेन्सी सञ्चालकले १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटनामा छानबिन गर्न समिति गठन भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरको नेतृत्वमा छानबिन समिति गठन भएको हो।
समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन्।
गृह मन्त्रालयको निर्देशनपछि शुक्रबार प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको हो।
पीडित युवतीले केही दिनअघि सामाजिक सञ्जालमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्। सो कुरा शुक्रबार संसदमा पनि उठेको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै यसमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए।
शुक्रबार नै कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालासहितको टोली पीडित युवतीलाई भेट्न पुगेको थियो। उनीहरूसँगै परामर्शदातासमेत युवतीको घरमा पुगेका थिए।
यता कार्यालयले भने यस घटनामा के गर्न सकिन्छ भन्ने बारेमा कानुन विज्ञहरूसँग आन्तरिक छलफल अघि बढाएको छ।
मिस ग्लोबल इन्टरनेसनल- २०१४ मा सहभागी ती प्रतियोगीले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आठ वर्षअघि आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी हुन्।