यौन दुर्व्यवहारको आरोपमा काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेल वार्डेनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।
बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केदारनाथ पौडेलको इजलासले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका होस्टेल वार्डेन ३५ वर्षीय रामजी बस्नेतलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो। उनलाई डिल्लीबजार कारागार पठाइएको छ।
उनी रामेछाप गोकुलगंगा गाउँपालिका-२ ठोसेका हुन्। घटना बाहिरिएपछि उनी रामेछाप भागेका थिए।
पीडित नाबालिगका अभिभावकले जाहेरी दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला प्रहरी कार्यालय रामेछापसँग समन्वय गरी गत जेठ २१ गते पक्राउ गरेको थियो।
उनीविरूद्ध तीन जना छात्राले जाहेरी दिएका थिए। कक्षा १०, ८ र ७का छात्रामाथि बाल यौन दुर्व्यवहार गरेको आरोप छ।
पीडितको पक्षबाट अधिवक्ता विनोदमणि भट्टराई र लबन न्यौपानेले बहस गरेका थिए।
शिक्षालयका छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको बाहिरिएपछि अभिभावकहरू आक्रोशित भएर विद्यालयमा पुगेका थिए। वार्डेन बस्नेतले छात्राहरूमाथि ६ महिनादेखि यौन दुर्व्यवहार गर्दै आएको आरोप छ।
उनले यौन दुर्व्यवहार गर्ने, अश्लिल भिडिओ देखाउनेलगायत गरेको छात्राहरूले बताएका छन्। त्यसबारे कसैलाई भने विद्यालयबाट निकालेर गरेर घर पठाइदिने भन्दै धम्क्याउनेसमेत गरेका थिए।