अछाममा विनोद शाही मृत्यु-प्रकरणमा प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा १२ प्रहरी घाइते भएका छन्।
सोमबार शाहीको न्यायको माग गर्दै आफन्तले जिल्ला सदरमुकाम मंगलसैनमा प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीले शाहीको हत्यारा आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै अदालत र सरकारी वकिलको कार्यालयमा ढुंगा प्रहार गरेका थिए। दुई पक्षबीच झडप हुँदा १२ जना प्रहरी घाइते भएका हुन्।
तनावग्रस्त स्थिति बनेपछि प्रहरीले नियन्त्रणमा लिन केहीबेर अश्रुग्यास, हवाई फायर र लाठीजार्च गरेपछि अहिले अवस्था केही शान्त भएकोे जिल्ला प्रहरी कार्यालय अछामाका डिएसपी नारायण डाँगीले बताए।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको–४ का १७ वर्षीय विनोद शाही गत वैशाख १७ गते बेपत्ता भएका थिए। बेपत्तापछि उनी २० गते घरनजिकै जंगलमा मृत फेला परेका थिए। घटनापछि आफन्तले १३ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए।
जसअनुसार प्रहरीले सोही नगरपालिकाका मेयर अम्बिका चलाउने, ४ नम्बर वडाकै पूर्व वडा अध्यक्ष सदनबहादुर शाही लगायतका ७ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले पक्राउ गरेका मेयरसहित ७ जनामाथि अदालतबाट दुई दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी डाँगीले जानकारी दिए।
उनका अनुसार जाहेरी दिएकामध्ये बाँकी ६ जना फरार छ। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
घटनापछि आफन्तले दैनिक जसो न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले आइतबार जिल्लामा दुई दिन सवारी साधन बन्द घोषणा गरेका थिए।