काठमाडौं महानगरपालिका वडा नम्बर २० स्थित परोपकारमा अत्याधुनिक शौचालयमा प्रयोगमा आएको छ।
एरोशान सस्टेनेवल स्यानिटेशनको सहकार्यमा अपाङ्गमैत्री, वातावरणमैत्री र महिलामैत्री शौचालय निर्माण गरिएको हो। शनिबार उक्त वडाका वडा अध्यक्ष राजेन्द्र मानन्धरले उक्त शौचालयको उद्धघाटन गरेका हुन्।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिको अवलोकन गर्दै महानगरभित्र अझै यस्ता शौचालय निर्माण गर्नुपर्ने बताए।
प्रमुख शाहले शौचालयमा प्रयोग भएको आकाशे पानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको बताउँदै शौचालयलाई सिकाइ केन्द्रको रूपमा विकास गर्न सकिने सुझाव दिए।
त्यस्तै, वडा अध्यक्ष मानन्धरले वडावासीको सहजताका साथै दैनिक यस क्षेत्रबाट आवतजावत गर्ने मानिसहरूलाई सुविधा सम्पन्न शौचालयको सुविधा दिनु महानगरको दायित्व रहेको बताए।
'आगामी दिनहरुमा पनि आवश्यक्ता अनुरुप शौचालय निर्माण व्यवस्थापन तथा पुनः निर्माणका कार्यलाई महानगरले प्राथिमकता दिनेछ' उनले भने।
एरोशान सस्टेनेवलले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौं महानगरपालिकामा ४ वटा र ललितपुर महानगरपालिकामा २ वटा गरी जम्मा ६ वटा अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याइसकेको छ।
शौचालयबाट उत्सर्जित दिसा पिसाबजन्य फोहोर व्यवस्थपानका लागि वायो ग्याँस प्रविधिको जडान गरी हालसम्म ७० हजार ६९९ लिटर पिसाब र ९ हजार ५७९ किलो दिसा व्यवस्थापन भएको छ।
जसबाट ७०५.२ लिटर वायो ग्याँस अर्थात् ४९.४ सिलिन्डर एल.पि.जि. ग्याँस उत्पादन भइसकेको छ।
फोहोर पानी प्रशोधन प्रणालीमार्फत ३ लाख ६० हजार लिटर फोहोर पानी प्रशोधन र आकाशेपानी संकलन प्रविधिको प्रयोगबाट २७ लाख ४० हजार १६० लिटर आकाशे पानीको संकलन गरी शौचालयमा प्रयोग गरिएको छ।
एरोशानद्वारा निर्मित तथा सञ्चालित शौचालयमा दैनिक एक हजार लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता भएको फोहोर पानी प्रशोधन प्रविधि प्रयोग गरिएको छ ।
मानव मल मुत्रलाई शौचालयमै व्यवस्थापन गरी वायो ग्याँस उत्पादन गर्न १० घन मिटरको वायो ग्याँस प्लान्ट शौचालय परिसरमै निर्माण गरिएको एरोशानका कार्यकारी प्रमुख प्रकाश अमात्यले बताए।