काठमाडौंको बालाजुमा महिलामाथि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका-३ घर भई टोखा नगरपालिका-३ बस्ने २५ वर्षीय सागर दर्जी र तार्केश्वर नगरपालिका-९ बस्ने १९ वरेषीय अमिर महर्जन छन्।
प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।
उनीहरूले गत असार २९ गते दिउँसो बालाजु कुमारीस्थानस्थित सडकमा हिँडिरहेकी एक महिलामाथि लुटपाट गरेका थिए।
उनीहरूले मोटरसाइकलमा गएर धक्का दिएर ती महिलाले बोकेको झोलामा भएको नगद, मोबाइल तथा अन्य कागजातसहित लुटपाट गरेका थिए। त्यसमा अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता देखिएपछि प्रहरीले पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले एउटा खुकुरी पनि बरामद गरेको छ। त्यस्तै दुईटा फोन, ५५१ ग्राम गाँजाको धुलो र घटनामा प्रयोग भएको मोटरसाइकल बरामद गरेको छ।
घटनाको थप अनुसन्धान गर्न प्रहरी वृत्त बालाजु पठाएको छ।