ललितपुरको हरिसिद्धिस्थित ऐतिहासिक पोखरी ‘द्योः पुखु’ पुनर्निर्माण गर्दा स्विमिङ पुल बनाएको भन्दै विवाद भएको छ। मौलिक स्वरूप बिगारेर निलो र सेतो रंगको बुट्टेदार टायल हालेर पोखरी बनाएपछि स्थानीयले विरोध गरेका हुन्।
नेपाल भाषामा द्योः को अर्थात देवता हो। हरेक वर्ष हरिसिद्धिका देवगण र पुजारीहरू सापारू (गाईजात्रा) को भोलिपल्ट मनाइने गुन्हु पुन्हिको अवसरमा यो पोखरीमा नुहाउँछन्। नेवाः समुदायले गुन्हु पुन्हि सातादिन मनाउँछन्। सुरूमा भ्यागुतालाई खुवाउने, जनैपुन्हि मनाउने, सापारू, लाखे नाचलगायत गतिविधि यस समयमा हुन्छ।
गाईजात्राको भोलिपल्ट यो पोखरीमा देवगण र पुजारीहरू नुहाएपछि बल्ल स्थानीय र अन्य मानिसले नुहाउने चलन छ। तर शनिबार नुहाउनुसँगै पोखरीलाई स्विमिङ पुल बनाएको कुराले चर्चा र विरोध भयो।
स्थानीय एवं गुठीका सदस्य कृष्ण गोपालका अनुसार गुठीयार, सम्पदाकर्मी, स्थानीयलगायत आवश्यक व्यक्तिहरूसँग छलफलबिनै पोखरी निर्माण गरेकाले यस्तो अवस्थ सिर्जना भएको हो।
‘पुरातात्विक महत्व भएको यो पोखरी बनाउँदा सबैसँग छलफल गरेर बनाउनुपर्ने तर त्यसो गरिएन। पुजारीहरूकै नेतृत्वमा बनेकाले हामी गुठीकै मान्छेले बोल्दा पनि बढ्ता बोलेजस्तो होला भनेर हामी चुप लाग्यौ,’ उनले भने, ‘यो पटक हरिसिद्धिमा १२ वर्षे मेला पनि भएकाले पुजारी अनि गुठियारहरूले हतारहतार पोखरी बनाउँदा यस्तो अवस्था आयो।’
उनले अगाडि भने, ‘अझै केही बिग्रिएको छैन। पोखरीको टायल निकालेर पुरानै शैलीमा फर्काउन सकिन्छ।’
अर्का स्थानीय विके जलमीका अनुसार यो पोखरी हरिसिद्धि मन्दिर जत्तिकै पुरानो छ। त्यहाँ बग्ने पानी गोसाइकुण्डबाट आउने विश्वास गरिन्छ। त्यही भएकाले यो पोखरीमा नुहायो भने गोसाइकुण्ड नै जानु नपर्ने र त्यहाँ गएर पाउनेजत्तिकै पुण्य यहाँ पाउने उनी बताउँछन्। पहिले धारा नहुँदा पनि स्थानीयहरूले यहीँको पानी उपभोग गर्थे। तर पोखरी निर्माण समितिले स्विमिङ पुल बनाएपछि त्यसको महत्व गुम्नसक्ने भन्दै उनी चिन्ता व्यक्त गर्छन्।
जलमीका अनुसार पुजारीहरूले पोखरीमा नुहाउँदा ढल मिसिएको बताएपछि यसलाई पुनर्निर्माण गर्न वडाले बजेट दिएको थियो। तर बजेटको सही सदुपयोग भएन।
‘यो पोखरी सम्पदामैत्री भएन, पोखरी निर्माणमा वहाँहरूले गल्ती गर्नुभयो,’ उनले भने, ‘यो गल्तीलाई जतिसक्दो चाँडो सच्याउनुपर्छ।’
उनले काठमाडौंको रानीपोखरीको उदाहरण दिँदै भने, ‘काठमाडौंको रानीपोखरीलाई स्विमिङ पुल हुनबाट रोकेको त्यसै होइन। मौलिक स्वरूप हुनुको महत्व भएकाले हो। यस्ता पोखरी वातावरणमैत्री पनि हुँदैन, उल्टै सबैले गिज्याउँछन्। हामीले यो पोखरीलाई आफ्नो मौलिक स्वरूप फर्काउन परम्परागत शैलीमा नै पोखरी बनाउनुपर्छ।’
द्यो: पुखु निर्माणका लागि वडाले गत वर्ष २० लाख बजेट छुट्याएको थियो। पोखरी निर्माणको जिम्मा सबै पोखरी निर्माण उपभोक्ता समितिलाई दिइएको थियो। तर निर्माणका क्रममा सम्पदामैत्री नभई आधुनिक शैलीको पोखरी बनाएको वडा नम्बर २८ का वडाअध्यक्ष वीरेन्द्र महर्जन बताउँछन्।
‘वहाँहरूले टायल राख्ने बेला पनि कुरा निस्किएको थियो। हामीले पुजारीहरूलाई त्यसबारे भन्यौं। वहाँहरूले त्यसबारे निर्णय गर्छौ भन्नुभएको थियो। तर गर्नुभएन,’ उनले भने, ‘हामी अब वहाँहरूसँग छलफल गरेर सकभर चाँडो यो हटाउने चहल गर्नेछौं।’