सामान्यततया मान्छेमा स्वास्थ्य समस्या भएपछि मात्रै अस्पताल जाने चलन छ। छाती दुख्यो भने, रिंगटा लाग्यो भने बल्ल मुटु परीक्षण गर्छन्। अहिले जनचेतना बढेकाले पहिले नै मुटुको परीक्षण गर्ने क्रम पनि बढ्दो छ।
तीस वर्ष कटेपछि वर्षमा एकपटक मुटु परीक्षण गर्नुपर्छ। व्यस्त सहरी जीवन, औद्योगीकरण र खानपिनमा आएको परिवर्तनले मोटोपन, उच्च रक्तचाप (हाइ ब्लडप्रेसर) र मधुमेह (सुगर) का बिरामी बढ्दो क्रममा छन्। यी सबैले मुटुलाई असर गर्छ।
मानिसहरूमा मुटुको रोगलाई बढावा दिने जोखिम कारकहरू; प्रेसर, सुगर, कोलस्ट्रोल बढ्दै गएको छ।
अहिले रक्तनलीसँग सम्बन्धित र मुटुको मांसपेशीसँग सम्बन्धित रोग बढेको देखिन्छ। जस्तै हृदयाघात, मुटुका नसाहरू साँघुरो हुने समस्या बढ्दो छ।
संसारभरि अल्पायुमा मृत्यु हुनेमध्ये धेरैको मुटु र रक्तनलीसँग सम्बन्धित समस्या छ। संसारमा मुटुकै कारण करिब दुई करोड मान्छेको उमेर नपुगी मृत्यु हुन्छ। नेपालमा भने यस्तो कुनै तथ्यांक छैन।
पहिला झाडापखला, निमोनिया, सरूवा रोगहरूका कारण धेरै मृत्यु हुन्थ्यो। अहिले नसर्ने रोगहरूका कारण धेरै मृत्यु हुन थालेको छ। पहिले मुटुको रोग धनी देशको भनिएको थियो। तर अहिले मुटु रोगका कारण मृत्यु हुनेमध्ये ८० प्रतिशत मृत्यु गरिब तथा अविकसित देशहरूमा भइरहेको छ। धनी र विकसित देशहरूमा धेरै घट्न थालेको छ।
मानिसहरूमा दालभात, तरकारी, फलफूल, साग खाने बानी हराएको छ। जंक फुड र आयातित खानाले समस्या बढेको छ। हाम्रा परम्परागत खाना धेरै स्वस्थकर छन्।
अहिले मासुको मात्रा पनि बढिरहेको छ। नुन र चिनी मिसिएको खानाको मात्रा बढेको छ। हाम्रो खानामा कार्बोहाइड्रेट अलि धेरै हुन्छ। मुटु रोगीको संख्या बढ्नुमा हामीले खाँदै आएको दालभातभन्दा जंक फुड धेरै जिम्मेवार छ।
परम्परागत खानामा परिवर्तन आउनु पनि मुटु रोगको कारण हो। स्वस्थ मुटुका लागि सन्तुलित भोजन हुनुपर्छ। घ्यु खानै हुँदैन भन्ने होइन। घरमै पकाएको खानामा खासै चिल्लो हुँदैन। खानाको मात्र कुरा होइन, त्यसलाई पचाउन पनि पर्छ। त्यसैले व्यायाम पनि जरूरी छ।
विश्व स्वास्थ्य संगठनले कम्तीमा एक सातामा १ सय ५० मिनेट हिँड्न भनेको छ। यसको सट्टामा पौडी, ब्याडमिन्टन लगायत खेल पनि हुनसक्छ। मुख्य कुरा शारीरिक रूपमा सक्रिय हुनुपर्छ भन्ने हो।
नेपालमा मुटुको प्रत्यारोपण बाहेकका सबैजसो उपचार सम्भव भइसकेको छ। मुटु रोगको उपचार सेवा काठमाडौंमा मात्र होइन, विराटनगर, पोखरा, चितवन ,बुटवलमा पनि धेरै विकास भइसकेको छ। देशकोस्तर अनुसार हामीकहाँ राम्रो उपचार हुन्छ। नेपालीहरू उपचारका लागि विदेशिन कम भइसकेको छ।
गाउँमा मान्छे स्वस्थ हुन्छन् भन्ने हाम्रो बुझाइ छ। तर त्यस्तो हैन। गाँउमा मुटुका बिरामी धेरै बढेका छन्। गाउँमा चुरोट सेवन धेरै हुन्छ। उनीहरू दुब्ला भए पनि मुटुको समस्या देखिएको छ। यद्यपि गाउँ र सहरमा मुटु रोगीको अवस्थाबारे हामीकहाँ अध्ययन भएको छैन।
मुटु स्वस्थ राख्न केही सुझावः
- खानपिनमा ध्यान दिनुपर्छ।
- फलफूल, सागसब्जी बढी भएको र नुन, चिल्लो कम भएको खाना खानुपर्छ।
- कार्बोहाइड्रेट र एनिमल फ्याट कम खानुपर्छ।
- कम्तीमा आधा घन्टा पसिना आउनेगरी हिँड्नुपर्छ।
- धूमपान, मद्यपान बन्द गर्नुपर्छ।
- तनावको व्यवस्थापन गर्नुपर्छ।
- प्रेसर, सुगरको समयमै उपचार गर्नुपर्छ।
- पर्याप्त मात्रामा सुत्नुपर्छ।
- धुवाँधूलोबाट जोगिनुपर्छ।
-ध्यान, योग गर्नुपर्छ।
मुटु रोग लाग्ने कारण, यसको उपचार र मुटु स्वस्थ राख्न अपनाउनुपर्ने विषयमा केन्द्रित रहेर त्रिवि शिक्षण अस्पताल महारजगञ्ज र ग्रिनसिटी अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर सूर्य देवकोटासँग सेतोपाटीले गरेको भिडिओ कुराकानी-
यी पनि हेर्नुहोस्ः
हृदयघात भएको कसरी थाहा पाउने? (भिडिओ)
मुटु स्वस्थ राख्ने तीन तरिका
सामान्य लाग्ने टन्सिलले बिगार्न सक्छ मुटु (भिडिओ)
९५ प्रतिशतभन्दा बढी मुटु रोगको उपचार नेपालमै सम्भव छ (भिडिओ)