सल्यान जीप दुर्घटनाका एक मात्र घाइतेको पनि उपचारका क्रममा बाँकेमा बिहीबार मृत्यु भएको छ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ जलबाङका ३५ वर्षीय तिलक वलीको बेलुका पाँच बजेतिर बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले सेतोपाटीलाई जानकारी दिए।
मंगलबार राति साढे १ बजेतिर बाँकेको ढकेरीबाट बिहेमा सहभागी भएर घरतर्फ फर्किरहेका आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो। जीप रिजर्भ गरेर आएका उनीहरू घरनजिकै आएपछि सल्यानको कपुरकोट– ३ मुलपानीमा दुर्घटनामा परेका थिए।
रा १ ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानी नजिकै ओरालोबाट झन्डै दुई सय मिटर तल खसेको खसेको थियो।
जीपमा सवार नौ जनामध्ये एक जना वली मात्रै गम्भीर घाइते थिए। उनको पनि उपचारका क्रममा तीन दिनपछि मृत्यु भएको छ।
दुर्घटनामा परी कपुरकोट गाउँपालिका ६ जलबाङका स्थानीय ३७ वर्षीय धर्म वली, ४० वर्षीय टोपबहादुर वली, उनका छोरा ११ वर्षीय बसन्त वली, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली, चालक २१ वर्षीय जीतबहादुर बोहरा, ३० वर्षीय सुरेश खत्री र सल्यान रिमका ३५ वर्षीय ललित वलीको घटनास्थलमै मृत्यु भएको थियो।
एकै घर परिवारका ६ जनासहित नौ जनाको मृत्यु भएपछि कपुरकोट गाउँपालिकाले बिहीबार शोक मनाउन पालिकाको सबै कार्यालय बन्द गराएको थियो।
बिहीबार बाँकेमा मृत्यु भएका घाइते वलीले सेतोपाटीसँग तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कुरा गर्दै चालक निदाएका कारण जीप दुर्घटनामा परेको बताएका थिए।