अर्घाखाँचीमा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर २७ बाँदर मरेका छन्।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ९ स्थित नौलापानी जंगलमा सिँचाइको लागि बनाइएको पोखरीमा परेर २७ वटा बाँदर मरेको जिल्ला वन कार्यालय अर्घाखाँचीले जनाएको छ।
जिल्ला वन कार्यालय अर्घाखाँचीका फरेस्टर दिपक पाण्डेले बाँदर पानी खान पोखरीमा गएको बेला पोखरी ठूलो भएको कारण डुबेर मृत्यु भएको हुनसक्ने बताए।
स्थानीयले पनि पोखरी ठूलो रहेको र पानी खान पसेका बाँदर निस्किन नसक्दा डुबेको बताएका छन्।
जंगल गएका स्थानीयले पोखरीमा बाँदर डुबेको भेटेपछि वन कार्यालयलाई जानकारी गराएको पोखरीका सचिव समेत रहेका वडा नं ९ का सदस्य नारायण बहादुर रायमाझीले जनाएका छन्।
डुबेर मरेका बाँदरलाई प्रहरी, जनप्रतिनिधि र जिल्ला वन कार्यालयका कर्मचारीको रोहबरमा खाडल खनेर पुरिएको छ।