धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तीन महिनाको सेवा सुविधाबापत पाउने रकमको पोशाक विभिन्न संघसंस्थामा आश्रितलाई दिने भएका छन्।
मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमा आफूले प्राप्त गरेको ३ महिनाको सेवा सुविधा उनीहरूको पोशाकमा खर्चिने जानकारी दिएका हुन्।
उनले साउन, भदौ, असोज र पर्व खर्चबापत २ लाख ६७ हजार ८ सय रुपैयाँ सेवा सुविधा बुझेका छन्।
उक्त रकमबाट उनले धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थामा आश्रित २६९ जनालाई पोशाक किनिदिने बताए।
मेयर हमाल दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, दृष्टि फाउन्डेसनका ५५ जना आश्रित, मानव सेवा आश्रमका ५६ जना, आमाको माया छात्रावासका ३० जना, गेटा अपाङ्ग समाजका ५ जना र पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना दृष्टिविहीन विद्यार्थीलाई पोशाक किनिदिने भएका हुन्।
यसअघि मेयर हमालले असार महिनाको सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका थिए।
उनले उपमहानगरपालिकाको–११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनाको सुविधा बापतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँ हस्तान्तरण गरेका थिए।
जेठ महिनाको २३ दिनको हुन आउने ५५ हजार ६८७ रुपैयाँ ८३ पैसा रकम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण गरेका थिए। मेयर हमालले आफूले पाएको गाडी सुविधा पनि वडा स्वास्थ्य क्लिनिकका लागि भनेर स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसकेका छन्। निर्वाचनमा हमालले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए।