कपिलवस्तुमा एक जना भारतीय नागरिकमाथि अज्ञात समुहले गोली प्रहार गरेको छ।
बिहीबार साँझ मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा ३५ वर्षीय भारतीय नागरिक ईरसाद खानमाथि गोली प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चाकरचौडास्थित एक होटलमा रहेका खानमाथि अज्ञात समुहले गोली प्रहार गरेको जानकारी दिए।
गोली प्रहारबाट घाइते भएका खानलाई उपचारको लागि भारतको गोरखपुर लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि नौगढ लगिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।
उनका अनुसार खान चाकरचौडासँग सीमा जोडिएको भारतको सिद्धार्थनगरको अलिगढवाका बासिन्दा हुन्। खानको काँध र कम्मरमा गोली लागेको छ।
प्रमुख जिल्ला अधिकारी मिश्रले गोली प्रहारको घटनापछि भारतीय प्रहरीसँग समन्वय यस घटनामा संलग्न समुहको खोजी गरिरहेको बताए।