विश्वका ६ वटा फ्रेञ्चाइज क्रिकेट लिगमा खेलाडीले पाउने पारिश्रमिकमा समस्या देखिएको छ।
विश्वका क्रिकेट खेलाडीहरूको संस्था फेडेरेसन अफ इन्टरनेसनल क्रिकेटर्स एसोसिएसनका अनुसार विश्वका ६ वटा फेन्चाइज क्रिकेट लिग खेलेका ३४ प्रतिशत खेलाडीले पारिश्रमिक पाउन समस्या भोगेको बताएका छन्।
पछिल्लो बार्षिक रिपोर्ट 'द मेन्स ग्लोबल इम्प्लोइमेन्ट रिपोर्ट २०२०' मा उल्लेख भएअनुसार पारिश्रमिकमा समस्या भएका ६ वटा लिग मध्ये ३ वटा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले खेलेका लिग छन्।
रिपोर्टका अनुसार बंगलादेशको बंगलादेश प्रिमियर लिग, क्यानडाको ग्लोबल टी-२० क्यानडा, युएईको टी-१० लिग, कतार टी-१०, युरोपको युरो टी-२० स्ल्याम र युएईको मास्टर्स च्याम्पियन्स लिगमा खेलाडीले पारिश्रमिक पाउन समस्या भोगेका छन्।
यी मध्ये सन्दीपले बंगलादेश प्रिमियर लिग, ग्लोबल टी-२० क्यानडा र युएईको टी-१० लिग खेल्दै आएका छन्। सिजनको टी-२० क्यानडा सन्दीपसँगै सोमपाल कामी र टी-१० लिग पारस खड्काले पनि खेलेका थिए।
बिबादका कारण सिजनको बंगलादेश प्रिमियर लिग हुन सकेन।
सिजनको ग्लोबल टी-२० मा सन्दीपसहितका खेलाडीले पारिश्रमिक नपाएको भन्दै प्रतियोगिताकै दौरान आन्दोलन गरेका थिए।
ग्लोबल टी-२० सन्दीप टोरन्टो नेसनल्समा ६० हजार डलर र तीव्र गतिका बलर सोमपाल विन्नीपेग हक्समा ३ हजार डलरमा आबद्ध भएका थिए।
ग्लोबल टी-२० मा १०-१५ प्रतिशत तलब प्रतियोगिता अघि दिनुपर्ने र बाँकी पारिश्रमिक पहिलो चरणको खेल सकिँदासम्म दिनुपर्ने व्यवस्था छ। तर ६ वटै टिमका अधिकांश खेलाडीले लिगको अन्त्यसम्म पनि तलब नपाएपछि आन्दोलन गर्नु परेको थियो।
ग्लोबल टी-२० क्यानडाको आयोजक बम्बई स्पोर्ट्स लिमिटेड हो। यो कम्पनी युरो टी २० स्ल्याम पनि आयोजक हो। जुन लिगमा पनि पारिश्रमिकमा समस्या देखिएको फेडेरेसन अफ इन्टरनेसनल क्रिकेटर्स एसोसिएसनले जनाएको छ।
बंगलादेश प्रिमियर लिग सन्दीपले सिल्हेट सिक्सरबाट खेलेका थिए। जहाँ उनीसँग ६० हजार डलरमा सम्झौता भएको थियो।
सन्दीप यस सिजनको टी–१० लिगमा कर्नाटका टर्स्कर्समा ४० हजार डलरमा आबद्ध भएका थिए। त्यसअघि उनी टी–१० लिग केरला किङ्स ३० हजार अमेरिकी डलरमा आबद्ध भएका थिए।
यसैगरी पूर्व कप्तान पारस खड्काले यस सिजनको टी-१० लिग टिम आबुधाबीबाट खेलेका थिए। पारस १० हजार डलरमा आबुधाबीमा अनुबन्धित भएका थिए।