आइपिएलमा कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच आइतबार साँझ भएको खेलमा स्कोर बराबरी भएको छ।
पहिले ब्याटिङ गरेको कोलकताले ५ विकेटको क्षतिमा १६३ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको हैदरावादले पनि ६ विकेटको क्षतिमा १६३ रननै जोडेको थियो।
स्कोर बराबरी भएपछि भएको सुपर ओभरमा कोलकता विजयी भयो।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको हैदरावादले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र जोड्न सक्यो। हैदरावादका लागि डेभिड वार्नर र अब्दुल समादले ब्याटिङ गरेका थिए। जसमा पहिलो बलमै वार्नर आउट भए। दोस्रो बलमा समादले २ रन जोड्दा तेस्रो बलमा उनी बोल्ड भए।
त्यसपछि कोलकताका लागि कप्तान इयान मोर्गान र दिनेश कार्तिकले ब्याटिङ गरे। बलिङमा हैदरावादका रासिद खान आएका थिए। जसमा पहिलो बलमा मोर्गनले रन लिएनन्। दोस्रो बलमा उनले १ रन लिए। तेस्रो बलमा कार्तिकले रन नलिँदा चौथो बलमा २ रन लिँदै आफ्नो टिमलाई जित दिलाए।
अन्तिम ओभरमा १७ रन जोड्दा स्कोर बराबरी
त्यसअघि अन्तिम ओभरमा हैदरावादलाई जितका लागि १८ रन चाहिएको थियो। ब्याटिङमा हैदरावादका रासिद खान र डेभिड वार्नर थिए। बलिङमा कोलकताका आन्द्रे रसेल आएका थिए।
जसमा पहिलो बलमै रसेलले नो बल फ्याँकेका थिए। त्यसपछि पहिलो बलमा रासिदले १ विकेट लिए। दोस्रो, तेस्रो र चौथो बलमा वार्नरले लगातार तीन चौका हिर्काए। पाँचौ बलमा उनले २ रन लिएपछि अन्तिम बलमा जितका लागि २ रन चाहिएको थियो। तर वार्नरले एक रन मात्र लिए पछि खेलमा स्कोर बराबरी भयो।
हैदरावादका लागि वार्नर नटआउट ४७ रन जोडे भने अब्दुल समादले २३ रन जोडे। त्यसअघि जोनी बायस्टोले ३६ रन र केन विलियमसनले २९ रनको योगदान दिए।
बलिङमा कोलकताका लकी फर्ग्युसनले ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताका लागि शुभमान गिलले ३६ रन र राहुल त्रिपाठीले २३ रन जोडे। नितिन रानाले २९ रन जोड्दा कप्तान इयान मोर्गानले ३४ रन र दिनेश कार्तिकले नटआउट २९ रन जोडे।
बलिङमा हैदरावादका टी नटराजनले २ विकेट लिए।
चौथो स्थानमा रहेको कोलकताले जितसँगै ९ खेलबाट १० अंक जोडेको छ। ६ अंक जोडेको हैदरावाद पाँचौ स्थानमा छ।