क्रिकेटलाई सधैं अनिश्चितताको खेल भनिन्छ। युएईमा भइरहेको आइपिएलले पनि त्यहीँ देखाउँछ।
आइपिएलका हरेक खेल रोमाञ्चक बनिरहेका छन्। हर खेलमा ट्विस्टको मजा दर्शकले लिइरहेका छन्। खेलको अवस्था नै यूटर्न हुँदा जितको आँकलन गर्न कठिनाइ परिरहेको छ।
आइतबार भएका दुवै खेल रोमाञ्चक बने। कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच भएको पहिलो खेल सुपर ओभरमा पुगेको थियो।
मुम्बई इन्डियन्स र किंग्स-११ पञ्जावबीचको खेल त झन् रोमाञ्चक बन्यो। दिनको दोस्रो खेल सुपर ओभरमा पुग्दा सुपर ओभर नै टाइ भयो।
कागजमा राम्रा खेलाडीले भरिएको टिम भए पनि पञ्जावले जारी सिजनमा जित निकाल्न संघर्ष गरिरहेको छ। पञ्जावको तुलनामा मुम्बईले उत्कृष्ट खेलिरहेको छ।
तर आइतबार भने मुम्बई भन्दा पञ्जाव उत्कृष्ट देखियो।
पञ्जावको बलियो पक्ष भनेको ब्याटिङ हो। टिममा कप्तान केएल राहुलसहित मंयक अग्रवाल उत्कृष्ट लयमा छन्। तर पनि मुम्बईको बलिङसामू १७७ रनको लक्ष्य पूरा गर्नु सहज थिएन।
अझ जारी सिजनमा खराब प्रदर्शन गरिरहेको पञ्जावले मुम्बईसँग भिड्नुअघि दुई जित मात्र हात पारेको थियो। ती दुवै जित रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध थिए।
पुछारमा रहेको पञ्जावका लागि मुम्बईविरुद्धको खेल जित्ने पर्ने बाध्यता थियो। जसमा पञ्जाव सफल भयो। दुई अंक जोड्दै पञ्जाव ६ अंकसहित अंक तालिकाको छैटौं स्थानमा उक्लन सफल भयो।
पहिलो सुपर ओभर टाइ भएपछि भएको दोस्रो सुपर ओभरमा जित हात पारेसँगै पञ्जावले अंक तालिकामा चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सलाई पछि पार्न सफल भयो। जितले पञ्जावले बाँकी टिमलाई आफूसँग सावधान रहन चेतावनीको संकेत दिएको छ।
सुपर ओभरमा सामीको उत्कृष्ट बलिङ
सुपर ओभरमा पुगेको खेलमा मुम्बईका जसप्रीत बुमराहले पञ्जावलाई केवल पाँच रन दिएका थिए। त्यसैले खेल सजिलै मुम्बईको पक्षमा जाने आँकलन गरिएको थियो।
तर पञ्जावका लागि सुपर ओभरमा बलिङ गरेका मोहमद सामीले मुम्बईका कप्तान रोहित शर्मालाई तीन बलमा एक रन मात्र जोड्न दिए।
सामीकै बलिङका कारण पहिलो सुपरमा स्कोर बराबरीमा सकिएको थियो। सामी जारी आइपिएलमा १४ विकेट लिएर बढी विकेट लिने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन्।
दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको मुम्बईविरुद्ध पञ्जावका मंयक अग्रवालले उत्कृष्ट फिल्डिङ गरेका थिए।
सुपर ओभरको अन्तिम बलमा मुम्बईका केइरन पोलार्डको प्रहारलाई अग्रवालले उत्कृष्ट फिल्डिङ गरेर छक्का हुनबाट जोगाएका थिए। जसका कारण मुम्बईले २ रन मात्र लिन सक्यो। दोस्रो सुपर ओभरमा मुम्बईले ११ रन जोडेको थियो।
पञ्जावका लागि क्रिस गेल र मयंक अग्रवालले ब्याटिङ गरेका थिए। मुम्बईका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए।
जसमा गेलले पहिलो बलमा छक्का हिर्काउँदा दोस्रो बलमा एक रन लिए। तेस्रो र चौथो बलमा अग्रवालले लगातार चौका हिर्काउँदै पञ्जावलाई रोमाञ्चक जित दिलाए।