आइपिएलमा चेन्नई सुपरकिंग्सको हारको श्रृंखला जारी छ। चेन्नईलाई सोमबार राति सकिएको खेलमा राजस्थान रोयल्सले ७ विकेटको फराकिलो अन्तरले पराजित गर्यो।
चेन्नईले दिएको १२६ रनको सामान्य लक्ष्य राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
राजस्थानको जितमा जोस बटलरले नटआउट ७० रन जोडे। प्लेयर अफ दि म्याच भएका उनले ४८ बलमा ७ चौका र २ छक्क प्रहार गरे। कप्तान स्टिभ स्मिथले नटआउट २६ रन बटुले।
ओपनर बेन स्टोक्सले १९ रन जोड्दा रविन उथप्पा ४ रन र सन्जु सामसन शून्यमा आउट भएका थिए।
बलिङमा चेन्नईका दीपक चाहरले २ विकेट लिए।
त्यसअघि कमजोर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो। उसका लागि रवीन्द्र जडेजाले सबैभन्दा बढी नटआउट ३५ रन जोडे। उनले ३० बल खेल्दा ४ चौका प्रहार गरे। कप्तान महेन्द्रसिंह धोनीले रनआउट हुनुअघि २८ बलमा २८ रन जोडे।
ओपनर साम कुरान २२ र उनका ओपनिङ पार्टनर फाप डु प्लेसिस १० रनमा आउट भए। सेन वाट्सनले ८ रन र अम्बाती रायदुले १३ रन भन्दा बढी जोड्न सकेनन्।
बलिङमा राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १-१ विकेट लिए।
जितसँगै राजस्थानले अंक तालिकाको पुछारको स्थान छाडेको छ। राजस्थान १० खेलबाट ८ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।
चेन्नई भने अंक तालिकाको पुछारमा झरेको छ। चेन्नईको १० खेलबाट ६ अंक छ।
आइपिएलमा मंगलबार राति किंग्स ११ पञ्जाव र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ।