आइपिएलमा कोलकता नाइट राइडर्सले खराब ब्याटिङ गरेको छ।
बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खराब ब्याटिङ गरेसँगै कोलकता ८ विकेटको फराकिलो अन्तरले पराजित भयो।
पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रनमा मात्र जोड्न सक्यो।
कोलकताले चार ओभर चल्दा सुरुवाती चार महत्वपूर्ण विकेट गुमाउँदा केवल १४ रन मात्र जोड्न सकेको थियो। सुरुवाती चार विकेट मध्ये तीन विकेट मोहमद सिराजले लिएका थिए।
कोलकताका लागि कप्तान इयान मोर्गानले सबैभन्दा बढी ३० रन जोड्दा टम बनटनले १० रन, कुलदिप यादवले १२ रन र लकी फर्ग्युसनले नटआउट १९ रन जोडे। अन्य ब्याट्सम्यान बेंग्लोरका बलर सामू टिक्न सकेनन्।
बलिङमा बेंग्लोरका मोहमद सिराजले ३ विकेट लिए। उनले ४ ओभरमा २ ओभर मेडन राख्दा ८ रन मात्र खर्चिए।
युजभेन्द्र चाहलको नाममा २ विकेट रह्यो भने वासिङ्टन सुन्दरले १ विकेट लिए।
८५ रनको लक्ष्य बेंग्लोरले १३.३ ओभरमा २ विकेट गुमाएर पार गर्यो। बेंग्लोरका ओपनरद्वय देवदुत पडिकल २५ रन र आरोन फिञ्च १६ रनमा आउट भए।
गुरकिरत सिंहले नटआउट २१ रन र कप्तान विराट कोहलीले नटआउट १८ रनको योगदान दिए।
जितसँगै दोस्रो स्थानमा उक्लिएको बेंग्लोरले शीर्ष टिम दिल्ली क्यापिटल्ससँग समान अंक जोडेको छ। शीर्ष स्थानको दिल्ली र दोस्रो स्थानको बेंग्लोरको समान १० खेलबाट समान १४ अंक छ।
कोलकता १० खेलबाट १० अंक जोडेर चौथो स्थानमा छ।
आइपिएलमा बिहीबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ।