नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का 'आइसिसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड' अवार्डको मनोनयनमा परेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मंगलबार सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का शतकको उत्कृष्ट क्रिकेटरमध्ये एसोसिएट विधाको मनोनयनमा परेका हुन्।
राष्ट्रिय टिमका पारससँगै सूचीमा स्टकल्यान्डका रिची बेरिनटन, नेदरल्यान्ड्सका पिटर बोरेन, स्कटल्यान्डका केल कोइजर, स्कटल्यान्डकै कोलम म्याकलियोड र पपुवा एन्ड न्युगिनीका असद भाला परेका छन्।
आइसिसीले विश्व क्रिकेटका पुरुष तथा महिला खेलाडीलाई सम्मान गर्न विभिन्न विधामा अवार्ड दिँदै आएको छ।
यो वर्ष आइसिसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी–२० खेलाडी(महिला तथा पुरुष), दशकको एसोसिएट खेलाडी (महिला तथा पुरुष) र आइसिसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा पुरस्कार दिइनेछ।
यो अवार्डको मनोनयनमा परेका खेलाडीलाई भोट गर्न आइसिसीले आफ्नो वेभपोर्टलमा व्यवस्थान गरेको छ।
अवार्ड आगामी १७ डिसेम्बरमा घोषणा गरिनेछ।
गत वर्ष पारसले नेपाली टिमको कप्तानी छाडेका थिए। पारसले सन् २००९ को एसीसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका थिए। उनले तत्कालिक कप्तान विनोद दासको स्थानमा कप्तानी गर्ने अवसर पाएका थिए।
२२ वर्षको उमेरमा कप्तानीको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटका सफल कप्तान हुन्। उनको नेतृत्वमा नेपालले डिभिजन–५ देखि एकदिवसीय टिम र टी–२० टिमको मान्यता पायो।
सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपको नेपालको नेतृत्व गरेका पारसले नेपालका लागि एकदिवसीय र टी–२० शतक हान्ने रेकर्ड बनाएका छन्।
पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल खेल मार्फत् नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। मलेसियाविरुद्धको खेलमार्फत डेब्यू गर्दा पारसले पहिलो इनिङमा ४४ रन र १ विकेट लिएका थिए। नेपालले ९ विकेटले जितेको खेलमा उनले दोस्रो इनिङमा ब्याटिङ र बलिङ गरेनन्।