युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र लिभरपुलले विजयी सुरुवात गरेका छन्।
बुधबार राति भएको समूह 'सी' को खेलमा म्यानचेस्टर सिटीले एफसी पोर्टोलाई ३-१ गोलले पराजित गर्यो।
खेलको १४ मिनेटमा पोर्टोले डियाजको गोलबाट अग्रता लिएको थियो। २० मिनेटमा सिटीले बराबरी गोल गर्न सफल भयो।
सिटीका लागि सर्जियो अग्युरोले पेनाल्टीमा बराबरी गोल फर्काएका हुन्। योसँगै अग्युरोले च्याम्पियन्स लिगमा ४० गोल गोल पूरा गरे।
पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको ६५ मिनेटमा सिटीले अग्रता लियो। सिटीका लागि इल्के गुन्डोआनले दोस्रो गोल गरेका थिए।
७३ मिनेटमा फेरान टोरेसले सिटीका लागि तेस्रो गोल गरेका थिए। यही समूहको अर्को खेलमा ओलम्पयाकोसले मार्सेलीलाई १-० गोलले पराजित गरेको छ।
यता समूह 'डी' को खेलमा लिभरपुलले डच क्लब अयाक्सलाई १-० ले हराएको छ। अयाक्सका ताग्लियाफिकोले ३५ मिनेटमा गरेको आत्मघाती गोल लिभरपुलका लागि जित निकाल्न पर्याप्त बन्यो।
यो समूहको अर्को खेलमा एटलान्टाले एफसी मिजील्यान्डलाई ४-० गोलले पराजित गरेको छ।