गोर्खा ब्वाइजलाई हराउँदै भारतीय क्लब पञ्जाब पुलिस विराटनगरमा जारी छैठौं संस्करणको विराट गोल्ड कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
विराटनगरस्थित सहिद रङ्गशालामा शुक्रबार भएको प्रतियोगिता पञ्जाबले गोर्खा ब्वाइजलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरमा हराउँदै अन्तिम ८ मा प्रवेश गर्यो।
निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। ३० मिनेट थपिएको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। ट्राइबेकरमा पञ्जाब पुलिसले गोर्खा ब्वाइजमाथि ४-२ गोलको जित निकालेको हो ।
ट्राइबेकरमा गोर्खा ब्वाइजका आशिष गुरूङ र अजित गुरूङको प्रहार असफल हुँदा शक्ति राई र गौरव श्रेष्ठले गोल गरे।
पञ्जाबका सरजित सिंह, जितेन्द्र सिंह, बलजित सिंह र अर्शदीप सिंहले गोल गरेका थिए।
त्यसअघि खेलको पहिलो हाफमा गोर्खा ब्वाइज र पञ्जावले गोल गर्ने केही राम्रा अवसर खेर फालेपछि गोलरहित बराबरी खेलेका थिए।
खेलको ८०औं मिनेटमा शक्ति राईले गोल गर्दै गोर्खा ब्वाइजलाई सुरूआती अग्रता दिलाए। तर इन्ज्युरी समयमा जितेन्द्र सिंहले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
अब पञ्जाबले क्वार्टरफाइनलमा काठमाडौंको मछिन्द्र क्लबसँग खेल्नेछ। यसअघि उद्घाटन खेलमा भारतको सिक्किम युनाइटेडलाई हराउँदै विराटनगर–११ क्वार्टरफाइनल प्रवेश गरिसकेको छ।
भोलि विराटनगर महानगरपालिका र भारतको वेस्ट बङ्गालबीच खेल हुनेछ।
बिहीबारबाट सुरु भएको प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमको सहभागिता छ । आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली सात र विदेशी तीनवटा टिम छन् ।