नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि ललितपुर सिटी एफसीले क्रोएसियाका भिलिम पोसिन्कोभिकलाई भित्र्याएको छ।
ललितपुरका प्रशिक्षक प्रदीप हुमागाईँले भिलिमलाई भित्र्याएको पुष्टि गरेका छन्। भिलिम आइतबार नेपाल आइपुगेका छन्।
३० वर्षीय भिलियन लेफ्ट विंगर हुन्। सन् २००८ देखि व्यवसायिक फुटबल खेल्न थालेका उनीसँग क्रोएसिया, टर्की, ग्रिस, फिनल्यान्ड, बुल्गेरिया र बोस्नियाको क्लबबाट खेलेको अनुभव छ।
सन् २०१९ मा उनले बुल्गेरियाको लोकोमिटिभ प्लोभ्डिभबाट खेल्दा बुल्गेरियन कपको उपाधि जितेका थिए।
भाटभटेनी सुपरमार्केटको स्वामित्वमा रहेको ललितपुरको मार्की खेलाडीमा अञ्जन विष्ट छन्।
टिमका अन्य खेलाडीमा एरिक विष्ट, विनोद गुरुङ, नवीन लामा, मिक्छेन तामाङ, कमल श्रेष्ठ, पल्साङ लामा, गौरव बुढाथोकी, अर्पन कार्की, प्रवेश दनुवार, विमल राना, रोहित कार्की, सरोज योन्जन, रन्जन विष्ट र निरज बस्नेत छन्।
एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन्।
आगामी वैशाख ११ देखि २५ गतेसम्म हुने प्रतियोगिताका खेल दशरथ रंगशालामा हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा संचालन हुनेछ।