नेपाल सुपर लिगको समूह चरणका खेल सकिएका छन्।
आइतबार दशरथ रंगशालामा भएको खेलमा काठमाडौं रेजर्सले एफसी चितवनलाई २-१ गोलले पराजित गरेसँगै समूह चरणका सबै खेल सकिएका हुन्।
आइतबार काठमाडौंका लागि मेसौकेले १७ र सन्जोक राईले ३४ मिनेटमा गोल गरे। चितवनका लागि राजिव लोप्चनले ४० मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
जितसँगै काठमाडौं समूहको शीर्ष स्थानमा रहन सफल भयो। यसअघि नै शीर्ष दुईमा रहेर प्लेअफमा पुगिसकेको काठमाडौंले ६ खेलबाट १३ अंक जोड्यो। दोस्रो स्थानको धनगढी एफसीले १० अंक जोड्यो।
ललितपुर सिटी एफसी तेस्रो स्थानमा रहन सफल भयो। उसले ९ अंक जोड्यो। चौथो स्थानमा रहेर बुटवल लुम्बिनी एफसी पनि प्लेअफ पुग्यो। बुटवलले ८ अंक जोड्यो।
८ अंक नै जोडेको पोखरा थन्डर्स भने प्लेअफमा पुग्न सकेन। पाँचौ स्थानको पोखरालाई बुटवलले हेड टु हेडमा पछि पार्यो।
छैटौं स्थानको विराटनगरले ७ अंक जोड्यो भने एफसी चितवनले २ अंक जोड्यो। चितवनले २ खेलमा बराबरी खेल्दा बाँकी चार खेलमा हार बेहोर्यो। चितवन मात्र जित निकाल्न नसक्ने टिम बन्यो।
अब धनगढी र काठमाडौंबीच पहिलो क्वालिफायर आगामी मंगलबार हुनेछ। जित हात पार्ने टिम फाइनलमा पुग्नेछ।
दोस्रो क्वालिफायरमा ललितपुर र बुटवलबीच आगामी बुधबार प्रतिस्पर्धा हुनेछ। जित हात पार्ने टिम एलिमिनेटरमा पुग्नेछ भने हार्ने टिम बाहिरिनेछ।
एलिमिनेटरमा पहिलो क्वालिफायरको हार्ने टिम र दोस्रो क्वालिफायरको विजेता टिमबीच बिहीबार खेल हुनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ।
फाइनल आगामी शनिबार हुनेछ।