फिफा विश्वकप कतार २०२२ तथा एएफसी एसियन कप २०२३ चीनअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले हार बोहोर्यो।शुक्रबार कुवेत सिटीमा भएको खेलमा नेपाललाई अस्ट्रेलियाले ३-० गोलले पराजित गर्यो।हारका बावजुद नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली खेलाडीको प्रशंसा गरे।'हामीले सकेसम्म राम्रो प्रदर्शन गर्यौ र काउन्टरमा खेल्ने कोशिस गर्यौ। हामीले रक्षात्मक खेलेनौ र उनीहरूले आफ्नो शारीरिक फाइदा लिए,'प्रमुख प्रशिक्षक अलमुताइरीले खेलपछि भने। उनले अस्ट्रेलियासँग गतिमा खेल्न सकेकोमा खेलाडीको प्रशंसा गरे।'१० खेलाडीमा सीमित भए पनि राम्रो खेलेकोमा खेलाडीलाई धन्यावाद दिन्छु,' उनले भने।अस्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले नेपाली खेलाडीको मानसिकताको प्रशंसा गरे। 'उनीहरू मैदानमा लडिरहे र दौडन छाडेनन्। तर हामी यहाँ जुन कामका लागि आएका छौं त्यो अझै समाप्त भएका छैनौं,' प्रशिक्षक अर्नोल्डले भने।