बंगलादेशविरूद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिम बराबरीमा रोकिएको छ।
आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपाललाई बंगलादेशले गोलरहित बराबरीमा रोकेको हो।
नेपालले पाएको अवसरमा फिनिसिङ गर्न नसक्दा गोल गर्न सकेन। दुवै हाफमा नेपालकी सरू लिम्बुको प्रहार बंगलादेशकी गोलकिपरले विफल पारेकी थिइन्।
यस्तै पहिलो हाफमा बंगलादेशकी खेलाडीको प्रहार क्रसबारमा लागेको थियो।
यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २-१ को जित हात पारेको थियो।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।
नेपाली टिम सोमबार उज्वेकिस्तान प्रस्थान गर्नेछ।
एसियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्।
नेपालले फिलिपिन्ससँग खेल्दै एसियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।